काठमाडौं–नायक विराज भट्ट निर्दे्शित चलचित्र ‘साङ्लो’ को प्रदर्शन मिति हेरफेर भएको छ। फागुन ९ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब, माघको २४ गतेबाट रिलिज हुने भएको छ।
चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले केही दिनमै पहिलो गीत रिलिज गर्ने तयारी गरेको छ। विराज भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा विराज र नायिका निकिता चण्डकको मुख्य भूमिका छ। चलचित्र ‘साङ्लो’ को बिषयवस्तु खुलाइएको छैन। विराजले सामाजिक कथामा एक्सनले भरिपूर्ण चलचित्रको रुपमा ‘साङ्लो’ लाई ब्याख्या गरेका छन्।
चलचित्रको प्रदर्शन मिति माघको २४ गतेलाई तय गरेसँगै अब यो मितिमा रिलिज हुन लागेको नायक विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’ लाई चुनौती थपिएको छ। ‘सेल्फी किङ्ग’ को निर्माण पक्षले केही दिन अगाडि नै माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको थियो।