काठमाडौं– त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ।
नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेकाले आज सम्मान गरेको हो। भण्डारी स्नातक तह (२०७३–०७६) मा ७८.६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गर्नुभयो। कलेजका प्राचार्य राजेन्द्र अधिकारीका अनुसार विसं २०५० मा निजी लगानीमा स्थापित सो कलेजले नर्सरीदेखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ। रासस