खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ को काम सुरु भएको छ ।
गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शिलन्यास गाउँपालिका प्रमुख भुपेन्द्र राईले गरे।
प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा सिँचाइ डिभिजन कार्यालय खोटाङद्वारा सात करोड ७२ लाख लागतमा साँढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
गत साउनमा निर्माण कम्पनी र सिँचाइ डिभिजन कार्यालयबीच सम्झौता भएको १३ किलोमिटर लामो उक्त योजनाको नौ किलोमिटरसम्म पाइप जडान, आरसीसी, पिसीसी, ग्याबिङ पर्खाल, मेसिनरी पर्खाललगायतका संरचनाको काम निर्माण कम्पनीले गर्ने जनाइएको छ। रासस