काठमाडौं–१ बर्षमा कतिवटा चलचित्र हिट भएको खण्डमा खुशी हुने? वा एकबर्षमा कतिवटा चलचित्र हिट हुँदा त्यो बर्षलाई सुखद मान्ने? यसको लेखाजोखा गर्न एकदमै कठिन कुरा हो। चलचित्र निर्माण गर्ने हरेक निर्मातालाई आफ्नो चलचित्रले लगानी उठाओस् भन्ने नै हुन्छ। तर, नेपाली चलचित्रको बक्स अफिस भने केही नाम चलेका ब्यानर र हिट चलचित्रका सिरिजको व्यापारमा टिकेको छ।
तिहारपछि काठमाडाैं मा चिसो बढ्दै जाँदा नेपाली चलचित्रको व्यापार पनि देशभर त्यसरी नै चिसिएको छ। यस्तो व्यापारले फेरि एकपटक चलचित्र बनाउनेलाई सोच्न वाध्य गराउँछ। उसो त, यो बर्ष नाम चलेका कलाकारदेखि ब्यानरका चलचित्रको व्यापार नै चिसो भयो।
तिहार बिदाको फाईदा उठाएको चलचित्र ‘पोई पर्यो काले’ ले केही दिन हलमा दर्शकलाई तानेको थियो। त्यसपछि भने चलचित्रको व्यापार निकै नै कमजोर छ। यतिसम्म कि, नाम चलेका कलाकारलाई हेर्न दर्शक नआउँदा शो समेत क्यान्सिल गर्नुपर्ने अवस्था आएको छ। कात्तिक १५ मा रिलिज भएको ‘बादशाह जुट’, कात्तिक २२ मा रिलिज भएको ‘घामड शेरे, जीवन काँडा कि फूल’, कात्तिक २९ गते रिलिज भएका ‘मिस्टर नेपाली, संझिराख है’ को व्यापार निकै नै कमजोर रह्यो। कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित चलचित्रले पनि दर्शक इनिसिय रुपमा तान्न सकेन।
मङ्सीरको ६ अर्थात शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘च च हुई’ ले इनिसियल व्यापार गर्ने अपेक्षा थियो। तर, यो चलचित्रलाई पनि दर्शकले पत्याएको देखिएन। शुक्रबार र शनिबार चलचित्रको व्यापार निकै नै कमजोर छ भने आइतबारदेखि अधिकांश मल्टिप्लेक्सले यो चलचित्रको शोज कटौती गरिसकेका छन्। नायक आर्यन सिग्देलदेखि कलाकार निश्चल बस्नेतलाई समेत दर्शकले पत्याएनन्। चलचित्रको व्यापार फेरि सुस्ताएको छ। यो सुस्त व्यापार कहिलेसम्म रहला, यो भने सोचनिय बिषय बनेको छ।