(तस्विरः अनलाइनखबर)
वीरगञ्ज– विद्यार्थीहरुबाट अवैध शुल्क असुलेको भन्दै नेशनल मेडिकल कलेजको अहिले चर्को आलोचना भइरहेको छ। कलेजका विद्यार्थीहरु बढी लिएको पैसा फिर्ता पाउनुपर्ने माग राख्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी विरोध तथा प्रदर्शनलाई साथ दिएको छ। अनेरास्ववियूल नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेको छ।
कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि दमन गर्ने तथा कुटपिट गर्ने कार्यमा संलग्न भएको भन्दै अनेरास्ववियूले अन्सारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपीट भएको थियो। उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो।
केन्द्रीय नेतासमेत सहभागी विरोर्ध याली घण्टाघरमा शुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो। अनेरास्ववियुले अन्सारीलाई तत्काल पक्राउ गर्न माग गरेको छ।