काठमाडौं–पछिल्लो समय नेपालमा रियालिटी शोको प्रचलन अत्याधिक बढेको छ। नेपाली टेलिभिजनको पर्दामा रियालिटी शोहरुले अहिले राम्रो स्थान बनाइरहेका छन्। अहिले नेपालमा गाउने, नाच्नेदेखि साहासिक रियालिटी शोहरु पनि सुरु भइसकेका छन्। जसले नेपाली युवा पुस्ताहरुको ध्यान खिचिरहेको छ।
अहिले निकै चर्चामा रहेको रियालिटी शो हो, ‘दि भ्वाइस अफ नेपाल’। ‘दि भ्वाइस अफ नेपाल’ ले छुट्टै क्रेज बनाएको छ। टेलिभिजनका दर्शक र युटुबका दर्शक हेर्ने हो भने निकै उत्साहजनक छ। यो शोमा सहभागी हुनका लागि गायनमा रुची भएका हरेक उमेरका मानिसहरु उत्साहित छन्। शो जितेपछि सांगीतिक दुनियाँमा पाइने चर्चाले पनि धेरैलाई यो शोप्रति उत्साह बढाएको हो।
अघिल्लो शनिबारबाट बाइक राइडिङ रियालिटी शो ‘पल्सर डेयर एड्भेन्चर’ सुरु भएको छ। यसको पनि दुई एपिसोड प्रशारण भइरहेको छ। यो शोको चौथो संस्करण हो। यो रियालिटी शोमा भने प्रतिष्पर्धीहरुले बाइक कुदाउनेमात्र होइन विभिन्न साहसिक खेल पनि खेल्नुपर्ने हुन्छ। यात्रामा आइपर्ने हरेक समस्याहरुलाई समाधान गर्दै आफ्नो गन्तव्यसम्म पुग्नुपर्ने हुन्छ। राइडरहरुले यात्रामा पाएको ‘टाक्स’लाई पनि पूरा गर्नुपर्ने हुन्छ। यो बर्ष यो शोका प्रतिस्प्रधी यात्रा गर्दै भारतको लाडखसम्म पुग्नेछ।
त्यस्तै साहसिक खेलको रुपमा चिनिएको अर्को रियालिटी शो ‘हिमालय रोडिज’ पनि प्रशारणको तयारीमा छ। फ्रेन्चाइज रियालिटी शो हिमालय रोडिज हिमालय टेलिभिजनमा प्रशारण हुनेछ। प्रशारणको तयारीमा रहेको हिमालय रोडिज तेस्रो संस्करण हो। पहिलो र दोस्रो संस्करण भन्दा विल्कुलै फरक शैलीमा हिमालय रोडिज तयार भएको छ। यो वर्षदेखि भने चार जना टिम लिडरले आफ्नो टिम तयार गर्नेछन् र अर्को टिमसँग प्रतिस्पर्धा गराउने छन्। टिम लिडरका रुपमा आशिष राना ‘लाउरे’, दिया मास्के, अनुपविक्रम शाही र पहिलो सिजनका विजेता समन श्रेष्ठ छन्।
कार्यक्रमको होस्ट रेमन दास श्रेष्ठले गर्नेछन् । यस शोलाई प्रतिक्षित शोको रुपमा हेरिएको छ।अर्को प्रतिक्षित शो हो, ‘नेपाल आइडल’। दुई संस्करण पूरा गरिसकेको ‘नेपाल आइडल’को तेस्रो सिजन प्रशारणको तयारीमा छ। हाल नेपाल आइडलको अडिसन पूरा भइसकेको छ। केही साता भित्रै ‘नेपाल आइडल’को प्रशारण सुरु हुनेछ। गायन रियालिटी शो नेपाल आइडललाई धेरै दर्शकले रुचाउने गर्छन्।
त्यस्तै, यसै वर्षबाट हाँस्य कलाकारहरुको लागि ‘कमेडी च्याम्पियन’ नामक नयाँ रियालिटी शोले पनि प्रशारणको तयारी गरिरहेको छ। यो रियालिटी शोमा भने प्रतियोगीहरुले आफूमा भएको कमेडी कलालाई प्रस्तुत गर्नेछन्। रियालिटी शोमा ‘वुगी उगी’ पनि पर्छ। नृत्य गर्नेहरुको रियालिटी शो ‘वुगी उगी’ को पहिलो संस्करण प्रशारण भइसकेको छ। एपीवान टेलिभिजनबाट प्रशारण हुने यो रियालिटी शोको दोस्रो संस्करणको तयारी भइरहेको छ।
नृत्य गर्नेहरुकै लागि अर्को रियालिटी शो पनि छ, ‘छमछमी’। तर, यो रियालिटी शोको भने चर्चा पहिले जस्तो अहिले छैन। हालै अर्को रियालिटी शो ‘नेपाल लोक स्टार’ ले पनि आफ्नो पहिलो संस्करण सकेको छ। लोक गीत गाउनेहरुको लागि तयार भएको यो रियालिटी शोको पहिलो सिजनमा शनी विश्वकर्मा विजयी बनेका छन्। नेपाली टेलिभिजनमा अहिले रियालिटी शोको आकर्षण देखिएको छ।
विशेषगरि,भारतीय टेलिभिजनहरुमा रियालिटी शोले दर्शकको साथ पाएपछि नेपालका टेलिभिजनमा पनि यस्ता शोहरुको निर्माण बढेको हो। जसले, देशका कुना कुनामा लुकेर बसेका प्रतिभाहरुले गतिलो मञ्च भने पाएका छन्। तर, यस्ता शो हेर्ने दर्शकले गुणस्तर नपुगेको भन्दै प्रतिक्रिया दिने पनि गरेका छन्। थुप्रै समस्या बाबजुत पनि टेलिभिजनमा यस्ता शोहरुको प्रशारण बढ्नु सुखद कुरा हो। त्यसैले नयाँ प्रतिभाहरु दिन प्रतिदिन प्रवेश गरिरहेका छन्।