एजेन्सी– कंगोमा विमान दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। उद्धारकर्मीका अनुसार आइतबार भएको यो दुर्घटनामा २३ वटा शव फेला परेको छ।
धावन मार्गबाट उडान भरेको केही समयमा नै विमानमा प्राविधिक समस्या आएपछि घना बस्तीमा जहाज खसेको थियो। विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए। उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम छ।
गोमा विमानस्थलका अधिकारी रिचार्ड मंगोलोपाले दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना न्युन भएको बताए। उत्तरी क्षेत्रमा रहेको बेनीका लागि बिहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कंगोका अधिकारीले पुष्टि गरे।
विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएको स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ। रासस