काठमाडौ–मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र र मतदाता परिचय पत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएको छ। मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्रलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो। सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको थियो।
५२ प्रकारका मतपत्र प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ।
प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्। स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ।
निर्वाचनमा भाग लिएका राजनीतिक दलका शीर्ष नेताहरु चुनावी प्रचारमा जुटेसँगै अहिले ३७ जिल्लाका ५२ स्थानको वातावरण निर्वाचनमय भएको छ। रासस