चितवन– चर्चित कथाकार महेश थापाको ‘मरीचिका’ लाई ‘उत्कृष्ट आख्यान २०७५’ पुरस्कार प्रदान गरिएकाे छ। चितवनको ‘कविडाँडा साहित्य समाज’ द्वारा यसै वर्षदेखि वितरण गरिएको पुरस्कारको राशी २५ हजार १ सय ६० छ।
गत शनिबार भएको कार्यक्रममा लेखक भूपिनको उपन्यास ‘मैदारो’ अविनाशी उत्कृष्ट पुरस्कार पाएको छ। सोही कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आफ्नो बुबा आमाको नामबाट स्थापना गरेको ‘देव–खिना’ स्मृति पुरस्कारबाट इन्द्र रेग्मी सम्मानित भए। भूपीनलाई पुरस्कार स्वरुप १० हजार १ सय ६० र रेग्मीलाई ११ हजार १ सय ६० प्रदान गरियो।
१७ औं वार्षिकोत्सवको अवसरमा समाजले आयोजना गरेको कविडाँडा राष्ट्रिय कथा प्रतियोगिता २०७६ को नतिजा पनि यसै अवसरमा घोषणा गरियो। यसमा कथाकार पुण्य खरेल प्रथम, मुना चौधरी दोस्रो तथा कथाकारहरू मन्दिरा मधुश्री र इन्द्रबहादुर भण्डारी तेस्रो घोषित भए । पुरस्कृत स्रष्टाहरुलाई क्रमश १० हजार १ सय ६०, ७ हजार ५ सय ६० र ५ हजार ६० नगद प्रदान गरियो। कार्यक्रममा प्रत्येक वर्ष प्रदान गरिने कविडाँडा साहित्य सम्मान भागीरथी श्रेष्ठ, उषा शेरचन र नारायण ढकाललाई दिइयो।
वार्षिकोत्सवको अवसरमा समाजले ‘समकालीन नेपाली कथास् परम्पराको भार कि प्रयोगवादको सिकार’ विषयमा बहस आयोजना गरेको थियो। अविश्नी कोइरालाले सञ्चालन गरेको सो छलफलमा नयनराज पाण्डे, भागिरथी श्रेष्ठ, नारायण ढकाल र जलेश्वरी श्रेष्ठ कथाबारे विमर्श गरेका थिए।
कार्यक्रमको उद्घाटन सत्रमा लेखक तथा समालोचक महेश पौड्यालले ‘आधुनिक कथाको वैश्विक परम्परा र नेपाली कथा’ विषयमा आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम एकदमै भब्य र सभ्य तरिकाले सम्पन्न भएको थियो।