काठमाडौं–नेपाली रङमञ्चमा सक्रिय समूहका लागि नाटक बनाउने चटारोसँगै प्रदर्शन गर्ने स्थायी ठाउँको अभावले एकदमै गाह्रो भएको अवस्था छ। २०६५ सालमा औपचारिक रुपमा स्थापना भएको शैली थ्रिएटरका कलाकारहरु पनि एक दशक यही समस्याबाट गुुज्रिएका थिए।
कहिले बन्द कोठाभित्र मञ्चन हुने नाटक, कहिले खुला आकाशमुनि गरिने सडक वा कचहरी नाटकलाई समूहले निरन्तरता दिइरह्यो। रुसी सांस्कृतिक केन्द्रको हलमा एक दशकभित्र शैली थिएटरले चालिस नाटक मञ्चन र वार्षिक रुपमा राष्ट्रिय बाल नाटक महोत्सव आयोजनासमेत गरिरह्यो। तै पनि शैली थिएटर परिवारका सदस्य आफ्नो स्थायी नाटक घर नहुनुको पीडामा थिए।
एक दशकको लामो प्रयासपछि शैली थिएटरको भवन निर्माणको काम सकिएको छ। यही मंसिर १५ देखि रातोपुल स्थिति नवनिर्माण भएको नाटकघरमा गोविन्द बहादुर मल्ल गोठालेद्वारा लिखित ’भुसको आगो’सँगै नाटकघरको उद्घाटन हुँदैछ। ‘भुसको आगो’ नारीकेन्द्रित कथावस्तुमा आधारित मनोविश्लेषणात्मक नाटक हो। २०१३
सालतिरको परिवेश चित्रण भएको यसमा पति र सासूससुराको दुव्र्यवहारपछि माइत बसेर भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगोझैं भएकी नारी पात्रको मनोदशा उतारिएको छ। नाटकले परित्याग गरिएकी र पछि शिक्षित भएपछि पुनः भित्राउन खोजिएकी मुख्य पात्रमार्फत नारीको संघर्ष र पुरुष प्रधान समाजको संकीर्ण दृष्टिकोणलाई उजागर गर्छ। जुन सामाजिक यथार्थताको प्रतिक जस्तै बनेको छ।
निर्देशक नवराज बुढाथोकीको निर्देशनमा नाटकलाई सरस्वती अधिकारी, सगुन पोखरेल, अश्मिता खनाल, चादनी शाही, सृष्टि आचार्य र निमा पाण्डे छ जना कलाकारले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। नाटकले पुस्ताका नारीहरुको सामाजिक मानसिक अवस्थालाई चित्रण गर्ने निदेशक बुढाथोकीले बताए। उनका अनुसार, यो नाटक त्यो समय र वर्तमान समाजको महिलाहरुलाई हेर्ने आँखा कस्तो थियो र छ भन्ने तुलना गर्ने एउटा अवसर पनि हो।
रंगकर्मी सरस्वती अधिकारी आफ्नो अनुभव भन्छिन्, ‘म अनि मेरो पात्रले बिचको पुस्तालाई प्रतिनिधित्व गछ। पुरानो सोच जबर्जस्ती भत्काउन पनि नसक्ने अनि चुपचाप सहेर बस्न पनि नसक्ने द्वन्दात्मक अवस्थामा म भुसको आगो झैँ बलिरहेको हुन्छु। हरेक दिन अभ्यासमा म मेरो पात्रलाई खोज्ने मात्र होइन, म सो पात्र मार्फत यो समाजमा आफ्नो अस्तित्व पनि खोजिरहेको हुँदोरहेछु।’
अर्की कलाकार सगुन पोखरेल भन्छिन् ‘विभिन्न उमेर समूहका महिलाले भोग्नुपर्ने पीडा र तिनका बाध्यताहरूलाई गोठालेले सूक्ष्म र मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। यो कुराले मलाई नाटकमा अभिनय गर्न उत्साहित बनाइरहेको छ।’ नाटक ‘भुसको आगो’ मंंसिर १५ देखि ३० सम्म हरेक साझ ४ः५० बजे मञ्चन हुनेछ।शनिबार १ बजे र अन्य दिन बुकिंङ सो पनि हुने जानकारी नाटकघर व्यवस्थापक भारती रिजालले जानकारी दिइन्। शैली थिएटरले यही माघमा एघारौं राष्ट्रिय बाल नाटक महोत्सव पनि आयोजना गर्नेछ।