तस्वीरः सेताेपाटी बाट
काठमाडौं–नेपालकै चर्चित ब्यान्ड ‘१९७४ एडी’ का पूर्वसदस्य तथा बाँसुरीवादक मनोज सिंह संगीत विधाको सबैभन्दा ठूलो ग्रामी अवार्डको मनोनयनमा पर्ने पहिलो नेपाली कलाकार बनेका छन्। उनी संलग्न देवा प्रेमलको ‘देवा’ एल्बम ग्रामीको बेस्ट न्यु एज एल्बम विधातर्फ मनोनयनमा परेको हो।
मनोज सांगीतिक समूह ‘सुकर्म’ का संस्थापक सदस्य हुन्। १९७४ एडीका ‘सम्झी बस्छु’, ‘पिँजडाको सुँगा’ जस्ता चर्चित गीतहरुमा उनको बाँसुरीवादनलाई धेरै स्रोताले मन पराएका छन्। मनोजले ग्रामी मनोनित संगीतकार उत्तल, जोन डेन्समोर, उस्ताद अलि अकबर खान, तबलावादक स्वपन चौधरी, पिटर रोवानलगायतका विश्व प्रसिद्ध संगीतकारहरुसँग काम गरिसकेका छन्।
हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्ने उनले पच्चीसभन्दा बढी देशमा आफ्नो बाँसुरीको धुन फैलाइसकेका छन्। प्रेमल र मिटेनसँग मनोजले यसअघि सोल इन वन्डर, डिपर लाइफ, मन्त्रज फर लाइफलगायतका एल्बममा काम गरिसकेका छन्। मनोजले आफ्नो फेसबुक पेज मार्फत यो आफूलाई प्रेमल र मिटेनले सुनाएको भन्दै गत बुधबार फेसबुक मार्फत खुसी साट्दै लेखेका छन्, ‘र ग्रामी अवार्डको उपाधि जान्छ... आज बिहान देवा र मिटेनले मलाई खुसीको खबर सुनाए। हामी ग्रामी अवार्डको मनोनयनमा पर्यौं।
यो सबैका लागि सुखद समाचार हो। धन्यवाद!’ यो खुशी उनको मात्र नभई ३ करोड नेपालीकै लागि गर्वको कुरा पनि हो। २०२० जनवरीमा सम्पन्न हुने ग्रामी अवार्डको ६२ औं संस्करणमा विजेताको घोषणा हुनेछ।