एजेन्सी– इंग्ल्यान्डविरुद्धको पहिलो टेष्ट क्रिकेटमा न्युजिल्यान्ड इनिङसहित ६५ रनले विजयी भएको छ। दोस्रो ईनिङमाले इंग्ल्यान्ड ९६.२ ओभरमा १ सय ९७ रनमा अल आउट भएसँगै न्युजिल्यान्डले फराकिलो जित निकालेको छ।
पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो। उसका लागि अलराउन्डर बेन स्टोक्सले सर्वाधिक ९१ रनको योगदान दिएका थिए। डेनलीले ७४, रोरी बर्न्सले ५२, ओल्ली पोपले २९, विकेटकीपर जस बटलरले ४३ रन बनाएका थिए। न्युजिल्यान्डका टिम साउथीले ४, निल वाग्रर ३, कोलिन डी ग्राण्डहोम २ विकेट लिए।
त्यसपछि न्युजिल्यान्ड आफ्नो पहिलो इनिङका लागि ब्याटिङमा उत्रिएको थियो। उसले २ सय १ ओभरमा ९ विकेट गुमाउँदै ६ सय १५ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। न्युजिल्यान्डका लागि बिजे वाटलिङले कीर्तिमानी २ सय ५ रनको दोहोरो शतकीय इनिङ खेले।
उनी न्युजिल्यान्डबाट टेष्टमा विकेटकीपरको रुपमा दोहोरो शतक पुरा पहिलो ब्याट्सम्यान बने। त्यस्तै स्पिनर मिचेल सान्टानरले करिअरकै पहिलो टेष्ट शतक प्रहार गर्दै १ सय २६ रन जोडे। कोलिन डी ग्रान्डहोमले ६५, कप्तान केन विलियम्सनलाई ५१ रन हेनरी निकोल ४१ रन बनाएका थिए।
इंग्ल्यान्डको बलिङमा साम करनले ३, ज्याक लेच र बेन स्टोक्सले दुई दुई विकेट लिएका थिए। समग्रमा २ सय ६३ रनको पछि परेको इंग्ल्यान्डले दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्न सकेन। इंग्ल्यान्ड दोस्रो इनिङमा ९६.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो। उसका लागि जो डेनलीले ३५ रन, रोरी बर्न्सले ३१ रन बनाए। त्यस्तै बेन स्टोक्सले २८ रन, जोफ्रा आर्चर ३० रन र साम करनले २९ रनको योगदान दिए।
न्युजिल्यान्डका निल वाग्ररले ५ विकेट लिए। उनले त्यसक्रममा १९.२ ओभरभा ६ मेडन सहित ४४ रन खर्चिएका थिए। अर्का बलर मिचेल सान्टनारले ३ विकेट हात पारे।