तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–सूर्य कर्पोरेशनले आयोजना गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड’ को यो दोस्रो संस्करण जापानमा सम्पन्न भयो, यो अवार्डको कार्यक्रमलाई गाईजात्रे कार्यक्रमा पनि भनियो। किनभने अवार्ड लिन अगाडि जाँदा पछाडि ताली पिड्ने मानिसको अभाव र कोही उठेर खाना खान जादा पनि हल रित्तै हुन्थ्यो।
२०१८ मा पनि यस अवार्ड भएको थियो। दोस्रो संस्करणको लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए। मह जोडी, नीर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, वर्षा राउत, दीपाश्री निरौला, स्वेता खड्का, सरिता लामिछाने, ऋषि लामिछाने लगायत त्यहाँ पुगेका थिए। यो लस्करमा मिसिएर चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई पनि जापान पुगे। रमाइलो त के भने, लस्कर लागेर जापान पुगेका अधिकांशले अवार्ड पाए। उदेक लाग्दो के भने, हलमा अवार्ड लिनेहरु मात्र उपस्थित थिए।
‘नाकानो जीरो’ हलमा आयोजित ‘अवार्ड कार्यक्रम’ कतिसम्म फितलो बन्न पुग्यो भने ‘‘भन्दा देख्नेलाई लाज’ भनेजस्तै भइदियो। जापानमै उक्त अवार्ड समारोह आयोजना गर्नुको औचित्य के हो? यसले नेपाली चलचित्रको उत्थान र उन्नतीमा कस्तो भूमिका खेल्छ? यस किसिमको अव्यवस्थाले आयोजकको नाक काटिँदा मात्र त केही हुँदैन। तर, अवार्डको गरिमा र महिमामाथि नै ठट्टा हुन्छ। यसले अवार्ड संस्कृतिलाई विकृत बनाइदिन्छ। चलचित्र विकास बोर्डका अध्यक्षलाई साक्षी राखेर गरिएको यस्ता अवार्डले चलचित्र क्षेत्रकै इमानमाथि धज्जी उडाइदिन्छ।
अवार्ड समारोह हुनु पक्कै पनि सुखद् कुरा थियो। यसले नेपाली चलचित्रकर्मीको कर्मलाई कदर गर्दै थप हौसला दिने अपेक्षा गरिन्छ। सिर्जनशील, समर्पित र सुयोग्य चलचित्रकर्मीले थप रचनात्मक काम गर्नका लागि उत्प्रेरणा मिल्ने आशा गरिन्छ। बाँकीले आफूलाई थप माझ्ने, कमजोरीहरु सच्याउने मौका पाउँछन्। त्यसैले अवार्डको मनोनयनमा परिरहँदा, अवार्ड प्राप्त गरिरहँदा जो कोहीको छाती चौडा हुन्छ। गर्वले विस्फारित हुन्छ।
अर्कोतिर यस किसिमको अवार्ड समारोहलाई देश–विदेशमा आयोजना गर्ने गरिन्छ। यसले समारोहलाई भव्य बनाउने, सहभागीलाई उमंगित बनाउने मात्र नभई चलचित्र क्षेत्रकै फैलावटमा सहयोग पुग्ने अपेक्षा गरिन्छ। तर, अवार्ड वितरण समारोहले यी दुबै कुरालाई बेवास्ता गर्छ भने त्यो अवार्ड समारोहको मूल्य के रहला? चलचित्र अवार्ड बिगतदेखि नै विकृत र विवादित हुँदै आएको छ। अवार्डको किनबेचदेखि मनोमानी ढंगले वितरण गरिने प्रणालीले अवार्डको गरिमा र विश्वास खुइलिँदै गएको छ।
यसबाट आयोजकले आफ्नो स्वार्थ त पूरा गर्न सक्लान्। तर, यसको साइड इफेक्ट चलचित्रको उत्थान नभई पतनको बाटोमा लाग्नसक्छ। वास्तवमै समर्पित र सिर्जनशील कलाकर्मीहरुमाथि अपमान हुनसक्छ। हुइयाँहरुले बाघको खोल ओड्ने भय हुनसक्छ। चलचित्र अवार्ड आयोजना कसरी हुँदैछ, कसले गर्दैछ, कहाँ हुँदैछ, किन हुँदैछ भन्ने कुराको मूल्यांकन नगर्दा पनि यो ‘धन्दा’ चलिरहेको छ। मनोनयनमा पर्ने कलाकार, आमन्त्रित अतिथिले नै यस्ता कार्यक्रमको विश्वसनीय, पारदर्शिता र नियत बुझ्नुपर्ने हो। तर, सुर्य सिटी बजाएर हातको इसाराले डाकेकै भरमा पंक्तिबद्ध हुनपुग्ने हाम्रा कलाकर्मी, चलचित्र अधिकारीहरुको जत्था लाजमर्दो छ।
अवार्डको मनोनयनमा पर्दा वा अवार्ड प्राप्त गर्दा त्यसले नाटकीय खुशी होइन। वास्तवमै उमंग र हौसला मिल्नुपर्छ। गर्वबोध हुनुपर्छ। आफ्नो मेहनत, लगाव, रचना, प्रयासको सही मूल्यांकन भएको अनुभूत हुनुपर्छ। तब पो अवार्ड थाप्नका लागि मञ्चमा उक्लिँदा पनि हर्षाश्रु र्झछ। छाती चौडा हुन्छ। मन उत्प्रेरित हुन्छ। तर, पूर्व–नियोजित ढंगले बाँडफाट एवं भागबण्डा गरिने अवार्डले घरको कोठाको ‘शोभा’ बढाउनेबाहेक अरु काम गर्दैन। कलाकर्मीले पनि अवार्डको मूल्य मनन् गर्नुपर्ने हुन्छ।
चलचित्र अवार्डको नाममा गरिने खेतीपातीले समग्र चलचित्र क्षेत्रलाई कस्तो असर गर्छ? कतै यसले गलत नजिर त स्थापना गरिरहेको छैन? सिंहावलोकन गर्नुपर्ने हुन्छ।