एजेन्सी–“नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भनेर मात्र चिनेको थिएँ यहाँ आएर नेपाल गैँडा र पाटेबाघको पनि देश भनेर चिनेँ,’’ सात समुन्द्र पारीको देश ब्राजिलबाट नेपालमा रेन्जरहरूको विश्व भेलामा सहभागी हुन आएका ब्राजिल अमेजनका एकजना रेन्जर एअरटन फेरेराको भनाइ हो यो।
विश्वभरका सयौँ रेन्जरहरूबीच ह्वीलचेयरमा गुडेर सक्रिय सहभागिता जनाइरहेका युवा रेन्जर फेरेराको करिब तीनवर्ष अघि भएको अकल्पनीय दुर्घटनामा परेर शरीरको तल्लो अङ्ग नचल्ने बनेपनि उनले हरेश खाएका छैनन्।
उनी भन्छन्, “दुर्घटनापछि जागिर गयो तर संरक्षणमा लागिरहने हुटहुटी मरेको छैन।’’ सधैँ वन संरक्षणमा खटिने ब्राजिल अमेजनका रेन्जर एअरटन फेरेरा त्यहाँको एक महत्वपूर्ण रुखको बिउ सङ्कलन गर्ने क्रममा घाईते भएका थिए।
ज्यानुअरी २०१७ मा एक रूखको बिरुवाको बिउ सङ्कलन गर्ने क्रममा छतबाट खसेर घाइते भएको उनी बताउँछन्। त्यसको झण्डै एक दशकअघिदेखि रेन्जरको जिम्मेवारीमा रहेका उनको उक्त दुर्घटनापछि जागिर गुमेको उनले बताए।
दुर्घटना
दुर्घटनाका कारण पन्ध्र महिना उनी ओछ्यानबाटै उठ्न सकेनन्। अहिले उनको कम्मरभन्दा तलको अङ्गले काम गर्दैन। तैपनि उनले संरक्षणको काम छाड्न सकेका छैनन्।
केही दिन अघि चितवनमा सम्पन्न विश्व रेन्जर सम्मेलनमा भाग लिन ब्राजिलबाट नेपाल आएका थिए। उनले बीबीसीलाई सुनाए “विश्वभरका रेन्जरहरुको अनुभवसँगै अहिले संरक्षण क्षेत्रमा आइरहेको प्रविधिको बारेमा जानकारी लिन पाएँ।’’
नेपालको वन्यजन्तु संरक्षणको अभ्यासबाट समेत आफूले धेरै राम्रा कुरा सिक्न पाएको समेत बताए। सरकारी जिम्मेवारीमा नभए पनि उनी विभिन्न संघसंस्थामार्फत् संरक्षण काममा जुटेका छन्। उनी हाल अमेजन रेन्जर एसोसिएसनका अध्यक्ष समेत छन् ।
समस्या
जिम्मेवारी निर्वाह गर्ने क्रममा दुर्घटना भएपनि उपचारका बेला सरकारले केही सहयोग नगरेको उनी बताउँछन्। जसले गर्दा अहिले आफ्नो मुख्य समस्या समस्या घरभित्रै सुरु हुने उनको भनाइ छ। “घरबार चलाउनै समस्या छ। तीनजना सन्तान र श्रीमती पाल्न धौधौ हुन्छ।’
ज्यानुअरीदेखि अगस्ट महिनाबीचमा अमेजन जङ्गलमा ७२ हजारवटा डढेलो लागेको बताएको छ। नत्र उनको उद्देश्य बेग्लै तरिकाबाट संरक्षणमा काम गर्ने थियो। उनी ईपे नाप दिइएको रुखको बिरुवाको बिउ धेरै सङ्कलन गरेर समुदायमा वितरण गर्न चाहन्थे। ईपे ब्राजिलको महत्वपूर्ण विरुवा हो। उक्त रूख ठूलो हुन्छ र फूल लाग्छ। फूलको रूपमा सुन्दरता र किराहरू प्रतिरोधी फर्निचर सामग्रीमा त्यसको उपयोगिता उच्च छ।
प्रतिनिधि कथा
चितवनमा सम्पन्न विश्व रेन्जर सम्मेलनमा ७१ देशका पाँच सय ५० रेन्जर, अनुसन्धानदाता र संरक्षणकर्मीहरू सहभागी थिए। त्यहाँ प्रस्तुत एक विवरण अनुसार अहिलेसम्म संरक्षणको क्रममा विश्वभर दश हजार रेञ्जरहरूले ज्यान गुमाएका छन्।
अङ्गभङ्ग हुनेको उच्च सङ्ख्या छ जसमध्ये उनी समेत एक हुन्। एअरटनको कथाले संरक्षण क्षेत्रको एउटा प्रमुख जोखिम देखाएको छ। उनकै देश ब्राजिलमा चोरी–शिकारी, वन फँडानी र आगलागीका घटनाले रेन्जरहरूको कामलाई दिनदिनै चुनौतीपूर्ण बनाएको छ। “राजनीतिक नेता एवम् दलहरूले गरेका वाचाहरू कार्यान्वयनको बेला महत्त्व नदिइनु समेत अर्को ठूलो नीतिगत समस्या हो।’’ बीबीसी