तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– नेपालको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ अहिले अन्तिम चरणमा पुगेको छ। अहिले ४ जना कोचसँग २ प्रतिस्पर्धी बाँकी छन्। ‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो सिजनमा दर्शकदेखि नेपाली चलचित्रकर्मीको आवाजमा परेका एक प्रतिस्पर्धी हुन्, सनिश श्रेष्ठ। उनी, कोच राजुको टिममा छन्।
उनै, सनिशले हाल छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा आवाज दिने पक्का भएको छ। अर्जुन पोखरेलको संगीतमा तयार भएको एक गीतमा सनिशले स्वर भर्ने पक्का भएको हो। ‘म यस्तो गीत गाउँछु २’ को छायांकन ‘दि भ्वाइस अफ नेपाल’ को स्टूडियोमा भैरहेको छ। सोही स्टूडियोमा पुगेका सनिशसँग निर्माण टिमले संझौता गरेको हो। संगीतका पोखरेलले केही दिनमै सनिशले गीत रेकडिङ गर्ने जानकारी दिए।
अर्जुनले भने,‘हामी यस्ता रियालिटी शोमा पनि फरक खालको आवाज खोजिरहेका हुन्छौ। सनिशको आवाज एकदमै फरक छ। हामीले चलचित्रका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट छ। यसैले, उनलाई यो अवसर दिने निर्णय गरेका हौ।’सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको छायांकन आजबाट सकिनेछ। चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ। सांगीतिक प्रेमकथामा निर्माण भैरहेको चलचित्रलाई फागुणको २३ गतेबाट रिलिज हुँदैछ।
सनिशले नायक पल शाहको लागि आवाज दिनेछन्। ‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो सिजन नसकिदै सनिशले आशा गरिएको चलचित्रमा स्वर दिने अवसर पाएका छन्। फाईनल सम्म उनले के गर्लान भन्न सकिँदैन तर यो अवसरले उनको करिअरलाई अवश्य सहायता गर्नेछ।