काठमाडौं — पर्यटन व्यवसायी ताकासी मियाहाराको निधन भएको छ।
नेपालको पर्यटन क्षेत्रमा लामो समय काम गरेका ट्राभल एन्ड टुर्स तथा होटल व्यवसायी मियाहाराको ८७ वर्षको उमेरमा निधन भएको हो।
७० को दशकमा संसारकै अग्लो स्थानमा होटल एभरेस्ट भ्यु उनैले बनाएका हुन्। नेपालका लागि उनले अन्तिमसम्म पनि काम गरे। होटल हिमालय पनि उनैले स्थापना गरेका हुन्।मियाहारा सन् १९६० को दशकमा नेपाल आएका थिए। नेपाली नागरिकसँग विवाह गरेका मियाहारा नेपाली नागरिकतावाहक हुन्।
मियाहाराले नेपालमा भएको चुनावमा पनि सहभागिता जनाएका थिए। संविधानसभाको चुनावमा प्रतिस्पर्धा गरेका भए पनि उनी विजयी भएनन्। उनले नेपालका संरचनागत विकास सम्बन्धी ब्लुप्रिन्ट पनि पनि तयार पारे। जसमा रेलमार्ग, सुरुङमार्ग, पर्यटकीय गन्तव्य, केबल कार, जलविद्युतलगायत छन्।
उनी नेपालका ७५ वटै जिल्ला घुमेको उनी निकट व्यवसायी बताउँछन्। नेपाल उनको कर्मभूमि थियो। पछिल्लो समय उनी सराङकोटमा आफूले ड्रिम प्रोजेक्ट मानेको अन्नपूर्ण भ्यु होटल स्थापनाको काममा व्यस्त थिए। उनको अन्त्येष्टि उनैको इच्छाअनुसार स्याङबोचेमा गरिने तयारी गरिएको छ।