बागलुङ– बागलुङ जिल्लाका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले पेट्रोल बिना चलाउन सकिने मोटर साइकल बनाएका छन्। श्रेष्ठ लामो समयदेखि युट्युवमा हेर्ने गरेको र लामो अभ्यासपछि पेट्रोल बिना चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गर्न सफल भएका हुन्।
चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले पुरानो मोटर साइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई इलेक्ट्रिक बाइक’ नाम दिइएको छ। श्रेष्ठले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनी समेत गरिएको थियो। गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाई छ।
धेरै पटक विफल भएँ, तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो,’ गणेशले भने, ’अन्ततः प्रयास, सोच र योजनामा सफल भएँ।’ उनले उक्त इलेक्ट्रिक बाइकमा ४८ भोल्टको मोटर, २० एम्पियरको फ्युज, ४ वटा लिड एसिड ब्याट्री,१ पिस कन्ट्रोलर, एउटा १२ भोल्टको ब्याट्री, १ एक्सिलेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन्। बाइक निर्माणमा व्यक्तिगत ६० हजार रुपैयाँ खर्च भएको उनले बताए।
यसअघि श्रेष्ठले क्ल्याफ स्विच वल्भ, स्पिकर इन्भटरजस्ता इलेक्ट्रिक सामान बनाउन सफल भएका थिए। फुर्सद हुँदा साथ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा इलेक्ट्रिक इञ्जिनियर बन्ने आफ्नो सपना रहेको सुनाउँछन्। विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्राविधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरेका थिए।
तस्बिर: दिल शिरीष