काठमाडाैं– केही दिनयता रानीपोखरीमा कालो माटो र माअप्पा अर्थात् ठूलो आकारको इँटा ओछ्याउने काम धमाधम भइरहेको छ। पोखरीको सबैभन्दा भित्री घेराको पाँच फिट चार इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले पानी नचुहिने बनाइसकेका छन्।
अहिले भने पोखरीको सतहमा कालो माटो र माअप्पा बिछ्याउने काम भइरहेको छ। ‘‘पहिले प्राकृतिक रूपमा नै पोखरीमा पानी जम्मा हुन्थ्यो। अहिले प्राकृतिक रूपमा पानी रिचार्ज नहुने भएकाले बाहिरबाट हालिएको पानी अड्याउन कालो माटोको सतह बनाउनुपरहेको हो,’’ सचिव तुलाधरले भने।
भक्तपुरको जनशक्तिले परम्परागत तरिकाबाट हातले माटो बिछ्याएर काम गरिरहेका थिए। हातले माटो ओछ्याउँदै काम गर्दा रानीपोखरीको निर्माण अवधि र लागत बढ्ने भन्दै उनीहरूलाई बिदाइ गरियो । त्यसपछि अहिले डोजरले माटो बोकेर राख्ने प्रविधि अपनाइएको छ। डोजरले मुछेर सतहमा राखेको माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेको छ।
पोखरीको सतहमा १५ देखि १८ इन्च बाक्लो कालो माटो विछ्याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान महर्जनले बताए। कालो माटोमाथि इँटाको सतह बनाइएको छ। पोखरीमा पानी अड्याउनका लागि यो विधि अपनाइएको इन्जिनियर महर्जनले जानकारी दिए। दुई लाख २० हजार वर्ग फिटको रानीपोखरीमा पानी अड्याउने जिम्मा उपभोक्ता समितिलाई दिइएको छ।
सचिव तुलाधरका अनुसार खोकना, भक्तपुरलगायत ठाउँबाट कालो माटो ल्याएर विछ्याइरहेको हो। विछ्याउनका लागि छ लाख इँटा चाहिने अनुमान छ। उनका अनुसार माघसम्म पोखरी तयार हुनेछ। उपभोक्ता समितिलाई नौ करोड ५० लाख रुपियाँमा पोखरी बनाउने जिम्मा दिइएको हो। शान्ति लामाले लेखेकाे यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।