जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ। स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो। बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ। यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताएका छन्।
‘एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ’, अध्यक्ष बुढाले भने। आयोजना आर्थिक वर्ष २०७१७२ देखि निर्माण शुरु भएको थियो। साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताएका छन्। आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो।
आयोजनामा रु तीन करोड लाग्ने अनुमान गरिएको थियो। उपभोक्ता समितिले बजेट जुटाउनु परेकाले ढिलाइ भएको जनाएको छ। ‘उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ’, अध्यक्ष बुढाले भने। तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाखमा काम शुरु गरिएको थियो।
त्यसपछि सांसद विकास कोषको रु ३० लाख, सूर्य सामाजिक सेवा सङ्घको रु २० लाख र पातारासी गाउँपालिकाको रु ७५ लाख लागेको छ। सो आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ। चारै गाउँका करीब ५०० परिवार लाभान्वित हुनेछन्।
पाँच हजार रोपनीमा सिँचाइ
विद्युत्सँगै आयोजनाबाट सिँचाइ पनि हुने भएको छ । यसबाट पाँच हजार रोपनीमा सिँचाइ हुने उपभोक्ता समितिले जनाएको छ। सिँचाइ पनि हुने भएकाले तरकारी खेती गर्न सजिलो भएको स्थानीयवासी वीरबहादुर बोहराले बताएका छन्। ‘तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्न सजिलो हुनेछ’, उनले भने।
स्थानीय बासिन्दाले मार्सी धान रोप्ने गरे पनि सिँचाइको सुविधा नहुँदा रोग लाग्ने र लगानीअनुसार उत्पादन हुने गरेको थिएन। अब खेतीपाती गर्न सजिलो हुने स्थानीय बासिन्दाको विश्वास छ। (रासस)