काठमाडौं–पहिलो सिरिजमा विवादमा आएको फिल्म ‘चपली हाइट’ अब ‘चपली हाइट–३’ पनि बन्ने भएको छ। संस्पेन्स थ्रिलर सिनेमा ‘चपली हाइट–३’ को रिलिज मिति घोषणा गरिएको छ।
निर्माता कुमार र निर्देशक निकेश खड्काले छायाँङ्कन स्थलबाटै सिनेमाको रिलिज मिति घोषणा गरेका हुन्।घोषणा अनुसार सिनेमा यसै वर्षको अन्तिम साता अर्थात चैत २८ गते रिलिज हुनेछ। ‘छायाँङ्कनमा जानु भन्दा पहिले नै रिलिज डेट घोषणा गर्ने योजना थियो। तर, प्राविधिक काम कस्तो होला भन्ने दोधार थियो।
छायाँङ्कनको पाँचौ दिनसम्म आइपुग्दा ‘चपली हाइट–३’ ले रफ्तार समातेको छ’, निर्माता अर्जुन कुमारले भने, ‘त्यसैले सिनेमा पूर्ण रुपमा तयार हुन धेरै समय नलाग्ने भएकाले चैत २८ को रिलिज डेट तय गरेका हौं। आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट–३’ उपहार हुनेछ।’ सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका छ।