काठमाडौं– अन्तरवार्तामा स–साना कुरामा चिप्लिँदा सेलिब्रिटीहरु कहिलेकाहीँ ट्रोलको शिकार हुनुपर्छ। जस्तो कि अहिलेकी हटकेक मोडल अञ्जली अधिकारी एउटा अन्तरवार्तालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन्। जुन एकपछि अर्को बनिरहेका छन्।
एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तामा अञ्जलीलाई उनको ‘रिलेसनसिप स्टाटस’ बारे सोधिएको थियो। तर, जवाफमा अञ्जलीले ‘फेसबुक स्टाटस’ को कुरा गर्न थालिन्। ‘मेरो स्टाटसमा प्राय गीतहरु नै हुन्छन्, आफूले खेलेका भिडियोका क्लीप्सहरु पनि राख्छु,’ उनले दिएको यही जवाफको क्लीप फेसबुक ग्रुपहरुमा सेयर भइरहेको छ। र, अंग्रेजी नजानेको भनेर धेरैले उनलाई खिसी गरेका छन्। यसमा अञ्जलीको प्रतिक्रिया भने आएको छैन।
यसैबीच, नायिका तथा निर्मात्री दीपशीखा खड्का अञ्जलीको बचाउमा उभिएकी छन्। उनले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुमाथि आपत्ति जनाउँदै स्टाटस लेखेकी छन्। अंग्रेजी नेपालीको मातृभाषा नभएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘आफ्नो मातृभाषा नजानेको भए पो लाज, अरुका भाषा नजान्दा केको लाज?’ उनले यूट्यूवरलाई पनि गतिलो दनक दिएकी छन्। दिपशीखाले लेखेकी छन्, ‘एउटा यूट्यूवरले एउटा कलाकारको इन्टरभ्यू लिन्छ। अरे लाईभ त होइन नि यार। असुद्ध कुराहरु नराखे पनि हुन्छ नि। त्यसैलाई हाइलाइट गर्छन्। अरे अर्काको इज्जत फुकेर आफ्नो चुलो कि बाल्नु के? किन?’
प्रियंका र रेखाको दृष्टान्त
बोल्दा जिभ्रो चिप्लेर ट्रोलको शिकार हुनुको पीडा सायद नायिका प्रियंका कार्कीलाई जति कसलाई थाहा होला र? उनले तीन वर्ष अगाडि एउटा अन्तरवार्तामा बोलेको संवाद अहिले पनि हाँसोको विषय बन्ने गरेको छ। भर्खरै अमेरिकाबाट फर्केको बेला प्रियंकाले एक यूट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन्। उनलाई सोधिएको थियो, अमेरिका तपाईंको कतिऔं पटक हो?’ यो प्रश्नमा उनले उत्साहित हुँदै जवाफ दिएकी छिन्, ‘अमेरिका मेरो फस्र्ट टाइम हो। यूके यूएस त धेरै पटक पुगिसकेँ। तर पढाई सकेर नेपाल फर्किएपछि म पहिलोपटक अमेरिका आएकी हुँ।’
धेरै वर्ष अमेरिका बसेकी प्रियंकाले यूएस र अमेरिका एकै हो भनेर नबुझेकी पक्कै होइनन्। तर, ऐन मौकामा जिभ्रो चिप्लिनु उनको दुर्भाग्य भएको छ।उनै प्रियंकाले केही समयअघि अर्को एउटा अन्तरवार्तामा अझै ठूलो गल्ति गरेकी छन्। आफ्ना प्रेमी आयूष्मान देशराजसँगै दिएको अन्तरवार्तामा उनको मुखबाट अञ्जानमा छाडा शब्द निस्केको थियो। एक प्रश्नको जवाफमा उनले भन्न चाहेकी थिईन्, ‘जोजोले हाम्रो सम्वन्ध टिक्दैन भन्नुभएको छ, उहाँहरुको पनि त्यस्तै अनुभव भएर होला।’ तर, बोल्दा उनले ‘टिक्दैन’ को ठाउँमा अनर्थ बोल्न पुगिन्।
त्यसो त केही समय अगाडि नायिका रेखा थापाले अन्तरवार्तामा हँसाएकी थिइन्। अमेरिका जाँदा उनले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘अमेरिकामा रहेका नेपालीहरु एकदमै होमलेस भएको मैले पाएँ।’ खासमा उनले ‘होम सिक’ भन्न खोजेकी थिइन्। त्यो शब्दले पनि उनलाई ट्रोलको सिकार बनाएको थियो।