काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्व्यापी रुप लिएपछि दूतावासले यस्तो निणर्य गरेको हो।
अमेरिकी दूतावास नेपालले ट्विटरमार्फत चैत ४ गते (मंगलबार) देखि यो कुरा लागु हुने जानकारी दिएको हो। दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनः सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ। यसका साथै, अति जरुरी कारणवस तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ।
