एजेन्सी–विभिन्न देशमा महिलाविरुद्ध हुने अपराधका घटनाहरु रोकिएका छैनन्। विभिन्न ठाउँमा बलात्कार, यौन हिंसा लगायतका घटनाहरु भएका खबरहरु आइरहन्छन्। तर, पछिल्लो समय यस्तो खबर आएको छ जसले मानवताको शीर पनि लज्जाबोधले झुकेको छ। भारतको उत्तर प्रदेशमा आफ्नै आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ परेको खबर भारतीय मिडिया आज तकले प्रकाशित गरेको छ।
आमालाई बलात्कार गरेपछि ती युवक घटनास्थलबाट फरार भएका थिए। पुलिसले उनीविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गरेको छ। घटना उत्तर प्रदेशको बुलंदशहर जिल्लाको एक गाउँको भएको बताइएको छ। जानकारीअनुसार घटनाको समय युवक नशामा थिए। पुलिसका अनुसार आरोपी छोराको उमेर २३ वर्ष छ। घटना ३ मार्चको हो तर बदनामीको डरले परिवारले छोराविरुद्ध पुलिसमा उजुरी दिन जान सकेका थिएनन्।
पीडित परिवारका अनुसार घटनाको दिन आरोपी छोरा रक्सीको नशामा घर पुगेका थिए। त्यतिबेला उनकी आमा घरमा एक्लै सुतिरहेकी थिइन् । नशामा लठ्ठ छोरा आमाको कोठामा गए र उनलाई बलात्कार गरे। बलात्कारपछि उनी घटनास्थलबाट फरार भए। पछि पीडितका पतिले पुलिसलाई सम्पर्क गरे । सोमबार पुलिस थाना गएर पूरा मुद्दा दर्ता गराएका थिए।