काठमाडौं–नेपाली कांग्रेसका युवा नेता सांसद गगन थापाले सरकारको कोरोना कोषमा सम्पूर्ण सांसदले एक महिनाको तलब जम्मा गर्न सुझाव दिएका छन्।
सोमबार बिहान ट्विटरमार्फत थापाले सरकारलाई सबैले सक्दो सहयोग गर्न आह्वान गरेका छन्। सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। थापाले ट्टिरमा लेखेका छन् ‘जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’
सरकारले पनि विपदमा कुनै नागरिकलाई अप्ठेरो पर्न दिँदैनौ भनी आश्वस्त पार्नुपर्ने धारणा थापाले व्यक्त गरेका छन्। गगन थापा पूर्व स्वास्थ्यमन्त्री हुन्। आइतबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष बनाउन लागेको हो। त्यसमा सरकारले ५० करोड राख्ने निर्णय गरेको थियो। साथै मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्नेसमेत निर्णय गरेका थिए।