काठमाडौं– फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनीसंगै आएका चारजना सँगै अन्य यात्रुको खोजी सुरु भएको छ। चैत ४ मा कतार एयरको फ्लाइट नम्बर क्यूआर ६५२ विमानमामार्फत नेपाल आएका १०५ यात्रुको खोजी सुरु भएको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीको अनुसार प्रहरीले अध्यागमन विभाग र स्वास्थ्य डेस्कबाट विमानमा सवार यात्रुहरुको विवरण झिकाएर खोजी सुरु गरिएको छ र केही यात्रु आफै सम्पर्कमा आइसकेका छन्।
प्रहरीको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको र सम्पर्कमा नआएकाहरुलाई क्वारेन्टाइनमा बस्न र शंकास्पद अवस्था देखिए परीक्षण गराउन निर्देशन दिइएको उनले बताए।