काठमाडौं– यती बेला संसारका धेरै मुलुक कोरोना भाइरसको संक्रमण फैलन नदिन ‘लकडाउन’को स्थितिमा पुगेका छन्। नेपालमा पनि सरकारले एक साताका लागि मंगलबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेको छ। शुरुमा चैत ११ देखि १८ गते विहान ६ बजे सम्मका लागि भनिए पनि कोरोना भाइरसको संक्रमणको विस्तार हेर्दा यो अवधि लम्बिन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ। नयाँ प्रजातिको भाइरस भएको हुनाले हालसम्म यसविरुद्ध कुनै औषधि पत्ता लागिसकेको छैन तर विभिन्न अनुसन्धानात्मक क्लिनिकलट्रायलहरु भइरहेका छन्। त्यसैले पनि अहिलेका लागि ‘होम क्वारेन्टाइन’ अर्थात् आ आफ्नो घरभित्रै बस्नुनै कोरोना भाइरसको संक्रमण फैलन नदिने सर्वोत्तम उपाय हो।
लगभग ३ महिनाको अवधिमा विश्वका १ सय ८० भन्दाबढि देशमा फैलिएको यस भाइरसले हालसम्म २७ हजार ८ सय ८९ जनाको ज्यान लिइसकेको छ करिब ६ लाख २ हजार २ सय ६२ संक्रमित छन् । त्यस्तै १ लाख ३१ हजार ८ सय ५४ जना निको भैसकेका छन्। चीनको वुहानशहरबाट शुरु भएको यस भाइरसको संक्रमणका कारण अहिले अमेरिका इटली, स्पेन लगायतका मुलुक समेत आजित भैसकेका छन्। आफूलाई विश्वकै शक्तिशाली मुलक दावी गर्ने अमेरिकामा संक्रमितहरुको संख्या सबैभन्दा बढि देखिएको छ ।
यसकारण पनि कोरोना भाइरस विरुद्ध तपाई हामीले अलिक बढि नै सचेतना अपनाउन जरुरी छ। ‘होमक्वारेन्टाइन’मा रहँदा समेत कोभिड–१९ को संक्रमणबाट बँच्न केही कुराहरुमा ध्यान पुर्याउनै पर्ने हुन्छ। नत्र ‘होमक्वारेन्टाइन’मै रहँदा समेत तपाई भाइरसको सम्पर्कमा आउन सक्नुहुन्छ र संक्रमितहुने खतरा कायमै रहन्छ।
यदि तपाई सरकारले घोषणा गरेको दिन अर्थात् मंगलबारदेखि ‘होम क्वारेन्टाइन’ मा बस्न शुरु गर्नुभएको छ भने तपाईको घर भित्रै पनि कोभिड–१९ का जिवाणू अझै जिवितै हुन सक्छन्। यु.एस नेशनल इन्स्टिचुटअफ हेल्थले विभिन्न खाले सतहमा कोरोना भाइरस कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको थियो। न्यु इंगलैंड जर्नल अफ मेडिसिनले प्रकाशन गरेको उक्तअध्ययनको निस्कर्षअनुसार, हावामा भन्दा विभिन्न सतहमा भाइरसको आयु लामो हुन्छ। तपाईले बाहिर हिंड्दा लगाउनुभएको लुगा, तपाईको नोटबुक, ल्यापटप, हातमा लगाउने पञ्जा, मोबाइल, चस्मा लगायतका स्थानमाभाइरसका जिवाणू जिवितै रहेका हुन सक्छन्। त्यसका लागि कोभिड–१९ नाम दिइएको यो भाइरस कहाँ कति समय बाँच्छ भन्ने कुरा थाहा पाउनु अतिमहत्वपूर्ण हुन्छ।
सबैभन्दा बढि समय प्लास्टिकमा बाँच्छ
कोरोना भाइरस सबैभन्दा बढि प्लास्टिकको सतहमा जिवित रहन सक्छ भन्ने अनुसन्धानले देखाएको छ। यदि कोरोना भाइरसका जिवाणू प्लास्टिकका सतहमा परे भने तीनीहरु ५ दिनसम्म जिवित रहन्छन्। होम क्वारेन्टाइनमा बस्नुअघि तपाईले प्लास्टिकका सामान प्रयोग गर्नुभएको थियो र ती प्लास्टिकका सामानमा भाइरसका जिवाणु परेका थिए भने तीनीहरु अझै जिवितहुन सक्छन् । त्यसैले त्यस्ता सामान प्रयोग गर्ने बेलाहोस् पुर्याउन निकै जरुरी छ।
कागजमा ४ देखि ५ दिन
कोभिड १९ कागजमा पनि निकै समय बाँच्ने अनुसन्धानले देखाएको छ। ४ देखि ५ दिनसम्म कागजमा जिवितै रहने यो भाइरस तपाइ हामीले प्रयोग गर्ने नोटबुक वा किताब वा फाइलहरुमा बाँचीरहेको हुन सक्छ। यदि हामी भाइरसका जीवाणु रहेका त्यस्ता कागजहरुको सम्पर्कमा आयौं वा छोयौं भने हामी भित्र भाइरसको संक्रमणहुने जोखिम रहन्छ।
शिशामा ४ दिन
कोरोना भाइरस तपाई हामीले प्रयोग गर्ने शिशाका भाँडा वा सामानहरुमा पनि ४ दिन सम्म जिवितै रहन सक्छ। यदि भाइरसका जिवाणु रहेका त्यस्ता शिशा, ग्लासका भाँडा वा सामानहरु हामीले निर्मलिकृत नगरी प्रयोग गर्यौं भने पनि हामीमा कोरानाको संक्रमणहुने सम्भावना रहन्छ। त्यसैले शिशाका सामानहरु प्रयोग गर्ने बेला पनि सतर्क रहन जरुरी छ।
काठमा ४ दिन
तपाई हाम्रो घरमा धरै ठाउँमा काठको प्रयोग भएको हुन्छ। यदि तपाई बाहिर बाट आउँदा भाइरसका जिवाणू हातमा टाँसिएर आएका हुन सक्छ र तपाईले घरमा रहेका टेबुल, कुर्षि, सोफा जस्ता काठका कुनै पनि सामान छुनु भयो भने हातमा रहेका जिवाणू उक्त ठाउँमा सर्छन् । तपाईले साबुनपानीले राम्रोसँग हात धोए पछि हातमा रहेका जिवाणू त मर्छन् तर काठमा रहेका जिवाणू भने साबुनपानी वा स्यानिटाइजरले सफा नगरे ४ दिनसम्म जिवित रहन्छन् । त्यस्तो ठाउँबाट पनि भाइरसका जिवाणू शरिरमा प्रवेश गर्ने जोखिम रहिरहेको हुन्छ।
हावामा ३ घण्टा
सामान्यतः कोभिड १९ हावाको माध्यमबाट सर्ने भाइरस होइन । तर संक्रमित व्यक्तिबाट निस्किएर हावामा रहेका भाइरसका जीवाणु ३ घण्टा सम्म जिवित रहेका हुन्छन्। कुनै कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँगर्दा तरलकणहरु मार्फत निस्किएका जिवाणूहरु ३ घण्टा सम्म त्यहीं हावामा बाँचीरहेका हुन्छन्। यदि तपाई माक्स् नलगाइ उक्त तरलकण रहेको हावामा ३ घण्टाभित्र पुग्नुभयो भने भाइरसका जिवाणूहरु तपाईको नाक मुख, आँखाको माध्यमबाट तपाईको शरिरभित्र प्रवेश गर्न सक्छन् र तपाई संक्रमितहुन सक्नुहुन्छ । त्यसैले कोहि नदेखिने ठाउँमापनि कोरोना भाइरसको संक्रमण हुने जोखिम रहन्छ।
स्टीलमा ४८ घण्टा, अल्मुनियममा ८ घण्टा
कोभिड–१९ स्टीलमा ४८ घण्टा सम्म जिवितै रहने अध्ययनले देखाएको छ। अल्मुनियममा भने २ देखि ८ घण्टा सम्म भाइरसका जिवाणु जिवित रहन्छन्। कोरोना भाइरस रेफ्रिजिरेटर, बेसिन लगायतका स्थानमा पनि २ देखि ३ दिन सम्म जिवितै रहन सक्छन्।
कसरी बँच्ने त?
कोरोना भाइरस हावामा केहि घण्टा तथा सतहमा लामो समय सम्म बाच्ने भएकाले मास्क प्रयोग, नियमित हातधुने, ढोकाको चुकुल, रेलिङ्ग, कम्प्युटर लगायत वस्तु सफा गरिरहनु पर्छ। यसो गरेमा संक्रमणको जोखिम कम हुने अनुसन्धानले देखाएको छ। हामीले प्रयोग गर्ने प्लास्टिक, शिशा, काठ, स्टील लगायतका सामानहरु नियमितरुपले राम्रोसँग धुनुपर्छ ।
साबुन पानीले धुन नमिल्ने कम्युटर, मोबाइल जस्ता सामानहरु स्यानिटाइजरले पटकपटक सफा गरिरहनुपर्छ। आवश्यक नपर्ने ठाउँ वा सामानहरु बाटआफू टाढा बस्नुपर्छ। नियमित प्रयोग नहुने कतिपय सामानहरु अलग्गै ठाउँमा पनि थन्काइदिन सकिन्छ।
कपडामा भाइरसका जिवाणू कति समय बाँच्छन् भन्ने स्पष्ट भइनसकेको हुँदा बाहिरबाट आएलगत्तै आफूले लगाएको कपडा तत्काल साबुन पानीको प्रयोग गरी धुनु पर्छ । धोएका कपडा सुकाउने बेला पनि सतर्कता अपनाउन जरुरी छ।
यसप्रकार सामान्य लाग्ने तर भाइरसको उच्च जोखिम रहेका भाइरसका जिवाणू जिवित रहन सक्ने विभिन्न सतहहरु बारे विशेष ध्यान पुर्याएर सतर्कता अपनाउन सकियो भने हाम्रो होम क्वारेन्टाइन सुरक्षित रहन सक्छ।