चितवन - कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ। सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो। भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए।
कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका–८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उहाँकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए।
सोही एयरवेजमा आएका छ जना चितवनवासी भएकामा एक जना काठमाडौँमा नै बसेका थिए। यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य छ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको अधिकारीले जानकारी दिए। गत चैत ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन्। हाल चारजनाको उपचार भइरहेको छ। अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ। घरपरिवारको निगरानीमा राख्ने गरी पठाइएको गरिएको हो। रासस