काठमाडौं – कोरोनाभाइरसको महामारीका कारण अहिले विश्वका अधिकांस देश तनावमा छन्। चिनको वुहान शहरबाट शुरु भएको यो भाइरसको फैलावटको गति निकै तिब्र छ। करिब ३ महिनाको अवधिमा यसले १ सय ९९ वटा देशका झण्डै ७ लाख ३४ हजार मानिसहरुलाई संक्रमित तुल्याएको छ भने यो समाचार तयार पार्दासम्म ३४ हजार ८ सय ४७ जनाको ज्यान लिइसकेको छ।
अहिले हरेक मानिषको मन, मस्तिस्कमा बसिसकेको छ ‘कोरोना’। कसैले खोक्यो या हाच्छ्युँ गर्यो भने मात्र पनि कोरोना भएको हो कि? भन्ने शंकाले मानसिक तनाब बढाईरहेका हुन्छन्।
कोराना भाइरस सम्बन्धी वास्तविक जानकारी नहुँदा कतिपय मानिसहरू हल्ला र भ्रमबाट अत्तालिएको अवस्था छ। यतीबेला बनको बाघको डर त छँदैंछ, मनको बाघले उक्त डरलाई दोब्बर बढाइदिएको छ।
जचाँउन नै नगईकन मलाइ कोरोना भयो भनेर तनाब लिदाँ मानिस झनै अर्को समस्याबाट पडित भइरहेका हुन्छन्।
हुन त संसारभर आतंक मच्चाएको यस भाइरसको सम्भावित संक्रमणसँग डराउनु स्वभाविक नै हो। तर यसको अत्याधिक डरले अत्तालिनु चाहिं हुँदैन। डरलाई सतर्कतामा रुपान्तरण गर्न सकियो भने भाइरसको संक्रमबाट बच्न सहयोग पुग्छ।
कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलँदै गर्दा यसबारेको गलत सूचनाले पनि मानिसहरुमा अत्यधिक डर उत्पन्न गराइदिएको छ, र मानिसहरु अत्तालिइरहेका छन्। कतिपय गलत सुचना तथा अफवाहले त मानिसहरुमा भाइरस संक्रमणको जोखिम थप बढाइदिएको छ।
आजभोली संचारमाध्यमहरुको संख्या असिमित छ। सामाजिक सञ्जालका ‘प्लेटफार्म’हरुमा मानिसहरुको पहुँच उत्तीकै बढेको छ। यसले मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई त बलियो बनाएको छ, तर कहिलेकाहीं कतिपय संचारमाध्यम र सामाजिक सञ्जालमा आउने सामग्रि तथ्य र यथार्थपरक नहुँदा यसले आममानिसमा नकारात्मक असर पनि पारिरहेको छ।
अहिले विश्व महामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणबारे पनि सामाजिक सञ्जालसहित कतिपय संचारमाध्यमहरुमा भ्रामक सामग्रिहरु आइरहेका छन्, जसले आम जनमानसमा नकरात्मक असर पारिरहेको छ। मिडियामा आएका विषयबस्तुहरुलाई मानिसले सजिलै विश्वास गरिरहेका हुन्छन्।
कतिपय मिडियाहरुले तथ्यमा आधारित सुचनाहरु पस्किरहेका छन् भने कतिपयले चर्चा बढाउनका लागि अनेकौं भ्रामक समाचारहरु प्रकाशन प्रसारण गरिरहेका छन्।
नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ। अन्य मुलुकमा झै व्यापक रुपमा संक्रमण नफैलियोस् भनेर सरकारले देशभर लकडाउन गरेको छ। हजारौं मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने देशका नाकामा विशेष कडाई गरिएको छ।
भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाइएको छ। कोरोना भाईरसकै कारण देशको अर्थतन्त्रमा पनि ठूलो असर पर्न गएको छ।
अब चर्चा गरौं कोरोना भाइरसको संक्रमणलाई लिएर फैलिरहेका भ्रमबारे।
यि हुन् कोरोनासम्बन्धि भ्रम !
बोझो, लसुन वा बेसारको प्रयोगले कोरोनाभाइरस मर्छ भन्ने कुरा भ्रम हो। लसुन, बोझो वा बेसार स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ। तर यसले कोरोनाभाइरसबिरुद्द औषधिकै काम गर्छ भन्नु चाहिं गलत हो। यसको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य हालसम्म कतै फेला परेको छैन।
लामखुट्टेको टोकार्ईबाट कोरोनाभाइरस सर्छ भन्ने अर्को एउटा भ्रम पनि सर्वसाधारणमाझ ब्याप्त छ। लामखुट्टेको टोकार्ईबाट कोरोनाभाइरस सर्दैन। यो कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।
शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा खाएमा कोरोना भाइरसको संक्रमण निको हुन्छ भन्ने कुरा पनि सुनिंदै आएको छ। यस्तै भ्रमका कारण केन्यामा एकजना व्यक्तिले डीटोल खुवाउँदा ५९ जनाको मृत्यु भएको समाचार त्यहाँको सञ्चारमाध्यमले प्रकाशन गरेको थियो। शरीरभित्र कोरोनाभाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा, छर्कदा वा सेवन गर्दा यो भाइरस मर्दैन। बरु यसले उल्टो शरिरलाई हानी पुर्याउने जोखिम हुन्छ।
‘माउथवास’ले मुख कुल्ला गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुरा हालसम्म प्रमाणित भएको छैन। केही कम्पनीका ‘माउथवास’हरुको प्रयोगले मुखभित्र ¥यालमा रहेका अन्य भाइरसलाई केही समयका लागि निर्मुल गर्नसक्छ तर यसले कोरोनाभाइरसलाई भने निर्मुल गर्न सक्दैन।
साधारण किसिमका पन्जाको प्रयोगले पनि कोरोनाभाइरसको संक्रमणलाई रोक्न नसक्ने चिकित्सहरु बताउँछन्। धेरैजसो पन्जामा निकै साना प्वालहरू हुन्छन् जहाँबाट भाइरस सजिलै हातमा प्रवेश गर्न सक्ने चिकित्सकहरुको भनाई छ।
हाम्रो मुलुकभित्र कोरोना संक्रमणको विषयलाई लिएर गलत तथ्याङ्क प्रस्तुत गर्ने, तथ्यहिन सम्भावनाहरु सम्प्रेषण गर्ने, परिक्षण नै नगरी कोरोना संक्रमण नभएको घोषणा गरिएको जस्ता भ्रामक कुराहरु पनि सार्वजनिक भएका थिए।
अहिलेसम्मको तथ्याङ्कअनुसार नेपालमा हालसम्म गरिएको परिक्षणमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये एकजना निको भइसकेका छन्। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणबाट बच्न भन्दै गाइको गोबर र पिसाब समेत बेच्ने गरिएको थियो। यस्ता भ्रामक सुचनाहरुले सर्वसाधारणलाई भाईरस संक्रमणको जोखिम बढाइदिएका छन्।
कोरोनासम्बन्धि यथार्थ
कोरोना भाइरसका सम्बन्धमा हामीले सुनेका मध्ये के चाहिं तथ्य वा यथार्थ हुन् त? अब कोरोना भाइरसबारे प्रमाणित भएका वा यथार्थ कुराहरु हेरौं।
जनावरमा पनि कोरोना: कोरोना भाइरसलाई लामो समयसम्म मानीसबाट मानिसमा सर्ने भाइरसको रुपमा ब्याख्या गरियो। तर पछिल्लो समय घरपालुवा कुकुर र विरालोमा कोरोना भाइरस देखिइसकेको छ। हङकङमा हालै गरिएको परीक्षण अनुसार एउटा घरपालुवा कुकुर कोरोना संक्रमित भेटिएको हो।
त्यसैगरी बेल्जियमको एउटा घरमा पालिएको बिरालोमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। उक्त विरालोमा घरमालिकबाट कोभिड १९ सरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
वृद्धवृद्धालाई बढी जोखिम: सबै उमेर समूहका मानिस कोरोना संक्रमित हुन सक्छन्। तर ज्येष्ठ नागरिक र दिर्घ रोग भएका मानिसहरुमा कोरोनाको जोखिम धेरै हुन्छ। पहिले देखि नै दम, मधुमेह, मुटुको रोग भएका, ६० वर्ष उमेर नाघेका, ५ वर्ष मूनिका बालबालिका, गर्भवति, एचआइभी संक्रमित, फोक्सोको समस्या भएका, अंग प्रत्यारोपण गरेका, तथा क्यान्सरको उपचार गराइरहेका व्यक्तिहरुमा यो भाइरसको असर डरलाग्दो हुने कोरोना संक्रमितको विश्वव्यापी तथ्याङ्कले पुष्टि गरेको छ।
मास्कको प्रयोग: अहिले विश्वभर मास्कको अभाव बढेको छ। माक्स प्रयोग गर्नुपर्ने आवस्यकता स्वस्थ व्यक्ति र संक्रमित मध्ये कसलाइ बढि हुन्छ ? यतीबेला माक्सको अत्यधिक प्रयोगको पछाडि अरुलाई संक्रमण नफैलियोस् भन्दा पनि आफूलाई संक्रमण नहोस् भन्ने मानसिकताले काम गरेको छ। तर, तुलनात्मकरुपले हेर्ने हो भने मास्कको प्रयोग लक्षण देखिएका र संक्रमितले गर्नुपर्ने हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्यायका अनुसार ‘एन–९५’ मास्कले समेत मानिसलाई संक्रमणबाट बचाउन सक्छ भन्ने कुनै प्रमाण छैन। उनका अनुसार हाच्छ्युँ गर्दा, खोक्दा मानिसले मास्क प्रयोग गरेमा नाक र मुखबाट निस्कने मसिना पानीका कणहरू फैलिन पाउँदैनन् र त्यसले नजिकको मान्छेलाई संक्रमणको सम्भावना भने कम गराउँछ।
कोरोनाभाइरसको औषधि हालसम्म कोरोना भाइरस उपचारको लागि कुनै औषधि पत्ता लागिसकेको छैन। तर संक्रमितलाई देखिएको लक्षण अनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ। यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ। यसको उपचार, औषधि र खोपका सम्बन्धमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ। विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा अध्ययन र अनुसन्धानलाई तीव्रता दिएको छ।
साबुन पानी र ह्यान्ड स्यानिटाइजरको प्रयोग
६० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएका ह्यान्ड स्यानिटाइजर कोरोना भाइरसजस्ता भाइरस मार्न प्रभावकारी हुन्छन् भनिएको छ। गुणस्तरिय भनिएका यस्था स्यानिटाइजरले पनि शरिरको बाहिरि भागमा रहेका भाइरसका जिवाणूलाइ मात्र मार्न सक्छन्।
भाइरस शरिरभित्र प्रवेश गरिसकेपछि भने स्यानिटाइजरको प्रयोगले संक्रमण निको पार्न सक्दैन। यद्यपि अमेरिकाको भान्डरबिल्ट विश्वविद्यालयका संक्रामक रोग र रोकथाम औषधिका प्रोफेसर डा. विलियम सेनफरले स्यानिटाइजरले कोरोना भाइरसमा पनि काम गर्छ भन्ने पुष्टि भइनसकेको बताएका छन्।
यसकारण, समय–समयमा साबुन पानीले कम्तीमा २० सेकेन्ड लगाएर राम्रोसँग मिचिमिची हात धुन बिर्सनुहुन्न। यसले कोभिड १९ लाई मार्ने र संक्रमण हुनबाट बचाउने प्रमाणित भइसकेको छ।
कसरी सर्छ यो भाईरस ?
कन्सल्टेन्ट फिजिसियन डाक्टर खेमराज भुसालका अनुसार कोरोना भाइरस रुघा खोकी गराउने सामान्य भाइरस भए पनि यसले बीच बिचमा आनुवांशिक गुण परिवर्तन गर्ने गर्छ र एकै पटक धेरै मान्छेमा संक्रमण गर्ने गर्दछ। उनका अनुसार सामान्यतया संक्रमित व्याक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाशप्रस्वाश मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने गर्दछ।
त्यसैगरी संक्रमित व्याक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ रहेको रुमाल कपडा लगायतका समानबाट पनि सर्ने खतरा रहन्छ। संक्रमित व्यक्ति वा उसको शरीरबाट निस्केको तरल पदार्थ नाङ्गो हातले छोई, हात सफा नगरी नाक, कान, आँखा वा मुखमा हात लैजादा पनि यो भाइरस सर्ने गर्दछ। डाक्टर भुसालका अनुसार, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति अरु भन्दा छिट्टै संक्रिमत हुने खतरा रहन्छ।
सुरक्षा तथा साबधानी
डाक्टरहरुका अनुुसार यो भाईरसबाट बच्ने सबैभन्दा राम्रो उपाय संक्रमित व्यक्ति वा सम्भावित लक्षण देखिएका व्यक्तिबाट टाढा रहनु हो। त्यसैले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै होम क्वारेन्टीनमा बस्नुपर्छ। घरमै बस्दा वा बाहिर रहँदा पनि समय समयमा २० सेकेन्डसम्म साबुन पानीले राम्रोसंग मिचिमिचि हात धुनुपर्छ।
साबुन पानी नपाएको खण्डमा समय समयमा अल्कोहलजन्य वा गुणस्तरिय एन्टीसेप्टिकले राम्रोसँग हात सफा गर्नुपर्ने चिकित्सकको सल्लाह छ।
खोक्दा वा हाछ्यु गर्दा रुमाल वा कपडा वा कुहिनाले छोप्नु अनिवार्य छ। त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वासप्रश्वाससम्बन्धी सरसफाईमा विशेष ध्यान दिने, जस्तै खोक्दा, हाँच्छ्यु गर्दा नाक मुख छोप्न सुझाव दिएको छ।