लगभग पुरा विश्व नै कोरोनाबाट संक्रमित भईरहेको अवस्थामा म सबैभन्दा पहिला प्रधानमन्त्री ज्यूको सुस्वास्थ्यको कामना गर्दछु। केहि दिनअघि मात्र शरिरमा दोश्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका कार्यकारी प्रमुखलाई अहिले पनि बेलाबेलामा स्वासप्रस्वासमा समस्या भईरहेको छ। नियमित चेकजाँच र डाइलासिस गराउनु उहाँको शरिरको आवश्यकता हो।
आशा छ, प्रधानमन्त्रीज्यूलाई स्वस्थ राख्न चाहिने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी, डाईलासिस मेशिन र अन्य उपकरणहरु चुस्तदुरुस्त र पर्याप्त मात्रामा उपलव्ध होला।
तर, प्रधानमन्त्री ज्यू, के तपाईले हाँकीरहनुभएको मुलुक अहिले भेन्टिलेटरमा पुगिसक्यो भन्ने यहाँलाई जानकारी छ? मेरो यो प्रश्न तपाईसम्म पुग्छ कि पुग्दैन, मलाई थाहा छैन, यदि पुगिहाल्यो भने यसको जवाफ खोज्नको लागि आराम गर्दै गरेको आफ्नो शरिर र मस्तिष्कमा जोड नदिनुहोला। केवल एकपटक आफ्ना मन्त्रीहरुलाई मेरो प्रश्न सुनाईदिनुहोला।
उनीहरु, चिनबाट स्वास्थ्य सामग्री खरिदमा सरकारमाथी लागेको आरोपबारे तपाईले मन्त्रिपरिषद बैठकमा सोध्दा चुप्प लागेर बसेजसरी चुप बस्नेछन्, वा भन्नेछन्, ‘प्रधानमन्त्रीज्यू, हजुर चिन्ता नगर्नुस, हामी त्यसै बसेका छैनौ, यो अवस्थालाई ‘ट्याकल’ गर्न निकै मेहनत गरिरहेका छौँ।’’
प्रधानमन्त्रीज्यू, त्यतिबेला माननियज्यूहरुलाई यो लोककथा सुनाईदिनुहोला।
‘‘एकादेशमा एउटा जगंलको राजा चुन्नका लागि चुनाव भयो। चुनावमा सिहंलाई पराजित गर्दै एउटा बाँदर बिजयी भएछ र राजा बनेछ। गद्दिमा बसिरहेको राजा बाँदरलाई भेट्न एकदिन एउटी हरिण आई। बाघले आफ्ना बच्चालाई लिएर ओडारभित्र गएकोले उद्वार गरिदिन बिलौना गरी।
हरिणको कुरा सुनेर बाँदर तत्काल हरिणलाई पछि लगाएर बाघको ओडारतर्फ हिड्यो। अनि ओडार अगाडि गएर रुखमा चढ्यो र रुखलाई जोड्ले हल्लाउन थाल्यो। कराउन थाल्यो। एक रुखबाट अर्को रुख, अर्कोबाट फेरी अर्को गर्दै हाम्फाल्न थाल्यो।
निकैबेर बाँदरले यस्तै गरिरहेपछि हरिणले भनि, ‘‘महाराज उता बाघले मेरो बच्चा खान थालिसक्यो होला, तपाई उसलाई बचाउन नगएर यो के गरीरहनुभएको छ?”
जवाफमा बाँदरले लामो साँस फेर्दै नम्र आवाजमा जवाफ दियो, ‘‘तिमी चिन्ता नगर, म त्यसै बसेको छु र? यो अवस्थालाई ‘ट्याकल’ गर्न निकै मेहनत गरिरहेको छु, देखेनौ?’’
प्रधानमन्त्री ज्यू, तपाईका मन्त्रीहरुको ताल पनि लगभग यस्तै छ। केहि गरेकै छैनन् भन्न खोजेको होईन। तर, उनीहरुले गरिरहेको गतिविधिले देशलाई भेन्टिलेटरबाट निकाल्न सक्दैन। सक्थ्यो होला, तर स्वार्थि आसेपासेले त्यो हुन दिने छैनन्।
प्रधानमन्त्रीज्यू, यो महामारीको बेलामा सरकार जनतामाझ लोकप्रिय बन्न सक्नुपर्ने थियो। तर सरकार त झनझन अलोकप्रिय बन्दै गईरहेको छ।
सरकार अलोकप्रिय हुँदा तपाई लोकप्रिय हुन कसरी सम्भव होला र !
सधैँ आलोचना गर्ने प्रतिपक्ष बरु यतिबेला सरकारप्रति उदार होला। तर, एकपटक सामाजिक सञ्जाल हेर्नुहोस त देश चलाउन रेमिट्यान्स पठाईदिने परदेशी र स्वदेशमै बसेर कर तिर्नेहरुले तपाईको सरकारलाई के भनिरहेका छन्।
आफ्ना नागरिकले दिएको अकर्मण्य र असक्षमको उपमालाई विरोधीको भँडास भनेर उखान टुक्कामा चाहिं नउडाउनु होला है प्रधानमन्त्री ज्यू।
फेरि पनि प्रधानमन्त्री ज्यू, म तपाईलाई यी सबको दोष दिने पक्षमा भने छैन।