काठमाडौं - “धन्य हो सरकार ∕ अब यति भए बाँचिन्छ।” एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन्। उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन्।
“हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु।” लुम्बिनी, सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो। उनको भान्सामा तेल र नुन सकिएको थियो। एक छोरा र तीन छोरीसँगै बस्दै आएकी हरिजन हप्ता दिनदेखि काममा जान पनि पाएकी छैनन्। उनी भैरहवा क्षेत्रमा दैनिकरूपमा घरघरमा पुगेर कपडा धुने, भाडा माँझ्ने काम गरेर गुजारा चलाउँदै आएकी छिन्।
दैनिक घरेलु काम गरेर जीविकोपार्जन गर्दै आएकी हरिजनसँग यतिबेला पैसा पनि छैन र नजिकमा कुनै किराना पसल पनि नहुनाले दुई दिनदेखि भोकै बिताउनुपरेको हो। कोरोना भाइरसको सङ्क्रमणले महामारी फैलिँदै जाँदा नेपालमा पनि सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उनी दैनिक काममा जान पाएकी छैनन्। काममा जान नपाउँदा सोमबार साँझदेखि भुजा र चना खाएर बिताउनुपरेको छ। मङ्गलबार बिहानै वडाका कर्मचारीको खबरले राहत वितरण लिन पुगेका हरिजन राहत पाएपछि निकै खुशी भए।
राहत थाप्न मङ्गलबार दिउँसो १२ बजेदेखि राहत लिन डेढ घण्टासम्म कुर्दा वडाध्यक्ष रमेश मल्ल वडासचिवसहित आए। उनीहरुले नआत्तिएर बस्न र केहीबेरमा राहत सामग्री लिएर नगरप्रमुख आउने जानकारी दिएपछि सबैजना ढुक्क भए। राहत सामग्रीसहित केहीबेरमा नगरप्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले आएर वडा कार्यालयले तयार गरेको सूचिअनुसार उपस्थित सबैलाई खाद्यान्न वितरण गरे।
खाद्यान्न पाएपछि झिन्कु मात्रै होइन, सोही ठाउँकी बहुरी अहिर पनि गद्गद देखिए। परिवारमा पाँच छोरा र एक छोरीसहित भाडाको घरमा बस्दै आएकी बहुरी अहिर घर बनाउने श्रमिकको काम गर्छीन्। लकडाउनका कारण आठ दिनदेखि उनको पनि काम ठप्प छ। “काम नगरे खान पाइन्नँ, जसोतसो हप्ता दिन त चल्यो। यस्तै रहिरह्यो भने कसरी चल्छ र रु”, अहिरले निरास हुँदै भने, “सरकारले यस्तै दाल चामल दिए त बाचिएला नत्र...” छेउमै रहेकाले सम्झाउँदै भने सरकार छँदै छ किन आतिएको।”
झिन्कु र बहुरीजस्तै १३९ जनाको घरधुरीलाई सिद्धार्थनगर नगरपालिकाले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको छ। परिवार सङ्ख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई पाँच केजी, १० जनासम्म परिवार हुने घरधुरीलाई १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताए। काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खानेतेल, एक केजी नुन, एक केजी दाल पनि प्रदान गरिएको छ। उनले भने, “शुरुमा केही कम वितरण गरेका छौँ, लकडाउन लम्बिँदै गयो भने फेरि दिन्छौँ। सरकार छ, कोही भोकै बस्न पर्दैन।”
लकडाउनका कारण कोही पनि भोकै हुन नपरोस् भनेर नै सिद्धार्थनगर नगरपालिकाले नगरमा भएका मजदुरहरुको लगत सङ्कलन गरेको छ। नगरप्रमुख हरिप्रसाद अधिकारीका अनुसार नगरको १३ वटै वडामा एक हजार ८७२ ज्याला मजदुरी गरेर खाने परिवार रहेका छन्। “दैनिक काम गरेर बिहान बेलुकाको जोहो गर्नेहरु कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनमा परी घरभित्र बस्न बाध्य छन्। उनीहरुले काम गर्न पाएका छैनन्। उनीहरुको जीवनयापनलाई सहज बनाउन हामीले राहत वितरण शुरु गरेका हौँ”, नगरप्रमुख अधिकारीले बताए।
सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुको लगत सङ्कलन गर्ने निर्णय गरेको थियो। नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ। उक्त कोषमा नगरले यसअघि नै रु ११ लाख ५१ हजार जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिले पनि सहयोग गरिरहेका छन्। राहत कोषमा नगरका प्रमुखले रु २१ हजार, उपप्रमुखले रु १५ हजार र वडाध्यक्षले रु १० हजारका दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए। सिद्धार्थनगरमा १३ वडा छन्।
लकडाउनका कारण खाद्यान्न, तरकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यालयको समन्वयमा टोलस्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरिरहेको मरासिनीले बताएका छन्। नगरपालिकाले समाजसेवी कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद अग्रवाल, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार सङ्गठनका अध्यक्ष नारयाणप्रसाद भण्डारी, बैंकर्स एशोसिएसनका अध्यक्ष रामराज उपाध्यायसहितले श्रमिकका लागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिमिसमेत गठन गरेको छ। – रासस