दाङ – रुकुम पश्चिममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीका अनुसार त्रिवेणी ४ का खड्का र प्रकाश बिकको घरमा बुधबार साँझ अन्दाजी साढे ६ बजेको समयमा चट्याङ परेको हो।
रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ घर भई बुढा मावली त्रिवेणी गाउँपालिका वडा नम्बर ४ दम्दुका गंगाराम खड्काको घरमा आएकी १३ वर्षीया बालिका निर्मला खत्रीको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
चट्याङ लागेर घाइते हुनेमा बिककी श्रीमती २० वर्षीया अनिता, ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया शुसिला खड्का, २२ वर्षीया पवित्रा खड्का, ५० वर्षीया धनमाया खड्का, ४ वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का रहेका डिएसपी केसीले बताए।
घाइते मध्ये अनिता विक गर्भवती रहेको र उनको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पताल हुँदै थप उपचारका लागि नेपागञ्ज पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरु भने स्थानीय स्वास्थ्य चौकी खुम्चेरीमा उपचारपछि घर फर्किएका छन्।