एजेन्सी– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को खोपको सफल परिक्षण भएको अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले दाबी गरेको छ।
यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ खोपको सफल परीक्षण गरिएको जानकारी दिएका हुन्।
पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले यो खोपको परिक्षण मुसामा गरिएको र सो खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखाएको बताएका छन्।
अबको केही महिनामा मानिसमा पनि यो खोपको परीक्षण शुरु हुने उनीहरुको आशा रहेको छ। अनुसन्धानकर्ताहरूको निष्कर्षलाई ब्रिटिश मेडिकल जर्नल दि ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको छ।