काठमाडौं – चिनबाट नेपाल आएको सामान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा नै रोकीएको छ। अख्तियारले कोरोना भाइरससम्बन्धित सामग्रीहरु गुणस्तर नजाँचिकन प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका कारण सामान भन्सारमै रोकीएको हो।
वायू सेवा निगमको ४१७२ नम्बरको विमानबाट राती २ बजेर ५३ मिनेटमा विमानस्थलमा आइपुगेको विभिन्न कम्पनीहरुको सामान अहिलेसम्म पनि विमानस्थल भन्सारमै थन्किएको छ।
फ्लास फ्लाईट नामक कम्पनीले चार्टर गरेको विमानमा ३० टन सामान ल्याउनसक्ने क्षमता भएपनि साढे ७ टनमात्र सामान ल्याइएकाे छ। चिन सरकारले निकै कडाई गरेको भएर यस्तो भएको भन्सार एजेन्ट मिन केसीले बताए। उनले भने, ’’ चिन सरकारले कडाईका साथ चेकिङ गरेर मात्र समान पठाएको छ, त्यसैले यस्ताे भएकाे हाे ।"
केसीका अनुसार, ‘एरोबिल’ नआईपुगेका कारण पनि भन्सारमा सामान रोकीएको हो। ‘‘एरोबिल आउनेवित्तिकै प्रकृया पुर्याएर सामान छुटाउछौँ’’, भन्सार एजेन्ट केसीले भने।
श्रोतका अनुसार सिजि, नर्भिक, आईएमएस ग्रुपलगायतले मगाएको स्वास्थ्य उपकरणहरु नेपाल आईपुगेको हो।