काठमाडौं - कोरोनाभाइरसले निम्त्याएको महामारीसँगै बजारमा कालाबजारी पनि बढेको छ। शुरुआतको समयमा कोरोनाभाइरस रोकथामका लागि प्रयोग हुने मास्कको कृत्रिम अभाव सृजना गरेर कालोबजारी हुँदै आएकोमा अहिले ‘ह्याण्ड स्यानिटाइजर’मा पनि कालोबजारी शुरु भएको छ।
कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठनले नै ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग गर्न सुझाव दिएपछि बजारमा ‘ह्याण्ड स्यानिटाइजर’को किनवेच व्यापक बढ्यो। यतीसम्म कि बजारमा ‘ह्याण्ड स्यानिटाइजर’ को अभाव नै भयो। यहि मौका छोपेर व्यापारीहरुले स्वभाविकभन्दा बढी मुल्यमा ‘ह्याण्ड स्यानिटाइजर’को विक्रिवितरण गर्न थाले।
यतिमात्र होईन, बजारमा एउटै कम्पनीको उही ‘ह्याण्ड स्यानिटाइजर’को मुल्य पनि फरक फरक पाइएको छ। काठमाडौंमा रहेको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगले उत्पादन तथा विक्रिवितरण गरीरहेको नवमी ब्राण्डको एउटै ह्याण्ड स्यानीटाइजरको मुल्य फरक फरक छ।। नवमी ब्राण्डको ४ सय एमएलको ‘ह्याण्ड स्यानिटाइजर’मा ६ सय रुपैंयाँ र ८ सय रुपैयाँ मुल्य उल्लेख गरेर विक्रिवितरण भइरहेको छ।
‘‘एउटै कम्पनी, एउटै बट्टा, एउटै स्टिकर र एउटै परिमाणको ह्याण्ड स्यानिटाइजरको मुल्य कसरी फरक–फरक हुन सक्छ?’’, एक उपभोक्ताले भने, ‘यो त सरासर कालोबजारी हो।’’
उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगका सञ्चालक कमल जलान भने आफ्नो कम्पनीको यसमा कुनै दोष नभएको दावी गर्छन्। ‘‘हामीले पनि यसबारेमा जानकारी पाएका छौ’’, नेपाली पब्लिकसँग उनले भने, ‘‘ हामी खोजविन गरिरहेका छौँ।’’ कोही कर्मचारी वा वितरकले यस्तो गरेको हुनसक्ने उनको अनुमान छ।
‘‘कसैले हामीले तोकेको मुल्य मेटाएर नयाँ मुल्य हालेको हुनसक्छ’’, उनले भने, ‘‘नयाँ स्टिकर नै छाप्ने सम्भावना हामीले देखेका छैनौ।’’ यद्यपी, सञ्चालक जलानको यो दावी भने स्वभाविक देखिंदैन। कम्पनीबाट निस्किएको ह्याण्ड स्यानिटाइजरमा नै फरक फरक मुल्य देखिन्छ। उनले दावी गरेजस्तो मुल्य मेटाएर अर्को मुल्य छाप्ने सम्भावना पनि देखिदैन्।
यस बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उद्योग, वाणिज्य विभागलाई अनुसन्धान गर्न निर्देशन समेत दिइसकेको छ। ‘‘हामीले विभागलाई यसबारेमा जानकारी गराईसकेका छौँ’’, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टका स्वकिय सचिव बिरेन्द्र बस्नेतले नेपाली पब्लिकसँग भने, ‘‘आवश्यक अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन भनिसकेका छौ।’’