प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमणकाे महामारीविरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको बताएका छन् । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण एकजनामा देखिएसँगै नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यसले थप सजगता र सावधानीको माग गरेको छ ।”
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबिरुद्ध थप सावधानी अपनाउन नसके स्थिती थप भयावह हुन सक्ने खतरा पनि औंल्याएका छन् ।
कोरोना भाइरसविरुद्ध सिंगो मानवजाती नै कठिन युद्ध लडिरहेको वाक्यांसबाट आफ्नो सम्बोधन शुरु गरेका प्रधानमन्त्रीले महामारीबाट ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदै संक्रमितहरुलाई निको भएर घर फर्कन शुभकामना पनि दिए ।
२२ मिनट ३८ सेकेण्ड लामाे सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लकडाउनमा मानिसहरुले भोगेको अफ्ठेरोलाई आफूले बिताएको जेल जिवनका यन्त्रणापूर्ण बर्षहरु र लामो एकान्तबाससँग तुलना गरे । उनले भने, “जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु । ”
प्रधानमन्त्री ओलीले भाइरसको नियन्त्रणका लागि खोप र उपचारका लागि औषधि पत्ता नलागेका कारण लकडाउनको विकल्प नभएको पनि स्पष्ट गरे । लकडाउनकै कारण नेपालमा महामारी फैलन नपाएको प्रधानमन्त्रीले दावी समेत गरे । उनले महामारीको समस्या अझै यथावत् रहेको र सावधानी नअपनाए स्थिति भयावह बन्ने सक्ने भन्दै लकडाउनको अवधि ८ दिन थप्न आफूहरु बाध्य भएको स्पष्ट गरे । “सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु । ” प्रधानमन्त्रीले भने ।
उनले भाइरसविरुद्ध अग्रपंतीमा खटिएका चिकिस्सक, स्वास्थ्यकर्मि, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरुको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले कोरोना भाईरसको नियन्त्रणका लागि मुुलुकमा भइरहेको प्रयास र प्रगतीहरुको पनि चर्चा गरे । उनले भने, “मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । यतिबेला ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ ।” सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको प्रधानमन्त्रीले दावी गरे ।
भारतसँगको सिमाक्षेत्रमा नेपालीहरुले भोग्नुपरेको अफ्ठोरो र उनीहरुको भावनालाइ सरकारले बुझेको भन्दै प्रधानमन्त्री ओलीले भने, “सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौं ।” सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सिमित गर्न सरकारले सिमामा आवत जावत बन्द गर्ने उपाय अपनाएको प्रधानमन्त्रीले स्पष्ट पारे ।