प्नधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शुक्रबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटर मार्फत कुराकानीबारे जानकारी दिएका हुन्।
वार्तामा दुई प्रधानमन्त्रीबिच नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल भएको हो। प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन्।
उनले ट्विटमा लेखेका छन्,‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।’
त्यसैगरी उनले अर्को ट्वीटमा लेखेका छन् ‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’