दृष्य–१
स्थानः अनामनगर
समयः अपरान्ह ५ः४० बजे
हरियो रङ्गको मोटरसाईकलमा एकजना व्यक्ति मैतिदेवीबाट खोला किनार हुँदै अनामनगर भाटभटेनीतर्फ गईरहेका थिए। म उनको पछिपछि थिएँ। काधँमा क्यामेराको झोला र छेउमा ‘ट्राईपोड’ झुण्ड्याएका उनको घाँटीमा कार्यालयको परिचय पत्र पनि झुण्डिएको थियो। पत्रकारजस्ता देखिन्थे।
मूख्य सडकमा उक्लनेवित्तिकै सुरक्षाकर्मीले हातले ईशारा गर्दै रोके। ‘‘ कता हिंड्नुभयो सर लकडाउनमा?’’, काँधमा एउटा तारा भएका प्रहरीले सोधे।
‘‘प्रेस हो सर। पशुपतीबाट फोटो खिचेर आ’को, अनामनगरमा भिडियो सम्पादक बस्छन्, तीनलाई लिएर कार्यालय जान लागेको?” पत्रकारले विस्तृतमा जवाफ दिए।
‘‘पास छ?’’ प्रहरीले फेरी सोधे।
पत्रकारले घाँटीमा झुण्डीएको परिचय पत्र देखाए।
‘‘पत्रकार सर, यस्तो परिचय पत्र आजकल जसले पनि बनाउन सक्छ नि।”, खिस्याउने शैलीमा प्रहरीले जवाफ फर्काए। पत्रकारलाई प्रहरीको वाक्य मन परेन, “के भन्न खोज्नु भ’को?” “भैगो जानुस्” भन्दै प्रहरी अर्को चेकिङ्गतर्फ लागे। आँखा तर्दै पत्रकार आफ्नो गन्तव्यतर्फ लागे।
दृष्य–२
स्थानः केशरमहल
समयः दिउँसो १ः३० बजे
लैनचौरतर्फबाट आउँदै गरेको एउटा कार। कारको अगाडीपट्टीको सिसामा एउटा कागज टाँसिएको छ– ‘प्रेस’ । प्रहरीको इसारासँगै कार रोकीयो।
ड्यूटीमा खटिएका एकजना ट्राफिक हवल्दार कारको नजिकै गएर सोधे ‘‘कता हिड्नुभयो सर?’’
३१ हाराहारीका एकजना पुरुष कारभित्रबाट कार्यालयको परिचयपत्र देखाँउदै बोले, ‘‘मिडियाबाट हो सर, अफिसको कामले निस्किएको।’’
ट्राफिक हवल्दारले कड्किँदै प्रश्न गरे ‘‘निजी कार लिएर कोही कार्यालयको काममा हिड्छ?’’
मुस्कुराउँदै जवाफ फर्काए, “निजी कार पाल्न पनि काम त गर्नु पर्यो नि सर।”
प्रहरीले खासै खोतल्न नचाहेपछि उनले गाडीको एक्स्लेटर दबाए।
एउटा अनलाइन मिडियाका संचालक रहेछन् उनी। ‘लकडाउन’का कारण कार्यालय बन्द गरी ‘वर्किङ फ्रम होम’मार्फत अनलाइन चलाइरहेका। अहिले चाहिं एकजना स्टाफको कम्प्युटर विग्रिएकाले ‘ल्यापटप’ पुर्याएर फर्कदै रहेछन्।
दृष्य–३
स्थानः जिल्ला प्रशासन कार्यालय, काठमाडौं
समयः अपरान्ह ४ः१५ बजे
लकडाउनको तेश्रो दिन जिल्ला प्रशासन कार्यालय बाहिर सडकमा निकै बाक्लो भिड जम्मा भएको थियो। अत्यावश्यक कामका लागि दिईने ‘पास’ लिन उनीहरु त्यहाँ पुगेका थिए।
गेट भित्रबाट बन्द गरेर सेवाग्राहीलाई बाहिर नै राखेर पास वितरण गरिँदै थियो। माहोल एकदमै अव्यवस्थित देखिन्थ्यो। बाहिर २ सय जनाभन्दा बढीको भिड जम्मा भईसकेको थियो।
यो दृष्यले सामाजिक दुरी कायम गराउनका लागि गरिएको लकडाउनको निर्णयको खिल्ली उडाईरहेको थियो।
त्यहाँ पास लिनका लागि विभिन्न पेशा र ब्यवसायका मानिसहरु पुगेका थिए। जसमध्ये केही संचारकर्मी पनि थिए । एकजना संचारकर्मी गेटभित्र उभिएका प्रहरीसँग आग्रह गर्दै थिए।
सञ्चारकर्मीः सर, बाहिर उभिएको ५ घण्टा भइसक्यो, मैले निवेदन सवा ११ बजे नै बुझाएको हो, अहिलेसम्म पास आईपुगेको छैन्, एकपटक बुझ्दीनुस न।
प्रहरीः के को पास?
सञ्चारकर्मी: मिडियाको हो सर।
प्रहरीः (झर्को मान्दै ) मिडियाको पास यहाँबाट हुदैँन्।
सञ्चारकर्मीः मैले बिहान एसएसपी साबसँग नै कुरा गरेको थिएँ, उहाँले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुस्, पास पाईन्छ भन्नुभएको थियो।
प्रहरीः खोई! थाहा भएन मलाई। बस्दै गर्नुस पास आयो भने नाम बोलाउँछ।
केहिबेरपछि, बाँकी रहेका पास लिन भोली आउनु भन्ने निर्देशन आयो । प्रशासनप्रति तितो पोख्दैसबै त्यहाँबाट निस्किन्छन्। भोलिपल्ट पनि जिल्ला प्रशासन कार्यालय पुगेका संचारकर्मी धेरैबेर कुर्दा पनि पास नआएपछि फर्किए। संचारकर्मीहरुको समूहमा एउटा आवाज सुनियो, “अब आफ्नै अफिसको कार्ड बोकेर हिंडिन्छ।”
.......
अचानक घोषणा गरिएको ‘लकडाउन’ले पत्रकारहरुका लागि निम्त्याएको असहज स्थितीको केहि उदाहरण मात्र हुन् माथीका घटनाहरु। हुन् त, सुचना विभागले जारी गर्ने परिचय पत्र वाहकलाई ‘लकडाउन’को समयमा आवतजावत गर्न दिईएको छ। तर, सबै पत्रकारहरुसँग सुचना विभागको परिचय पत्र नहुँदा समस्या देखिएको हो।
‘‘सबै पत्रकारहरुसँग सुचना विभागको कार्ड हुन्छ नै भन्ने जरुरी छैन्’’ काठमाडौंबाट सञ्चालन हुँदै आएको बिजपाटी डटकमका सम्पादक मोहमद अजमत अली भन्छन्, ‘‘सुचना विभागको कार्ड नबोक्ने पत्रकार, पत्रकार नै होईन भन्न त मिलेन नि।’’ स्थानिय प्रशासन र सम्बन्धित निकायले यस बिषयमा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन्।
पछिल्लो परिवर्तित व्यवस्थाअनुसार वास्तविक संचारकर्मी पनि सूचना बिभागको पासबाट बन्चित भएको बताउँदै सम्पादक अलीले थपे ‘‘सूचना विभागको पास मात्रै पास नमानी कार्यलयले दिने पासलाई पनि आधिकारिकता दिनुपर्छ, ज्यानको जोखिम मोलेर यो बेला बाहिर हिड्ने रहर कसैलाई हुदैन।’’
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यस बिषयमा आफुहरुले गृहमन्त्रालयसँग छलफल गरीसकेको बताए। ‘‘सुचना विभागको पास बाहेक सम्बन्धित संस्थाको कार्डवाहकलाई पनि मान्यता दिन आग्रह गरेका थियौँ’’, उनले भने, ‘‘गृहले पनि त्यहि अनुसारको सर्कुलर जारी गरीसकेको छ।’’
केहि जिल्लाहरुमा गैरपत्रकारहरुले पनि आफ्नो सवारीसाधनमा प्रेस लेखेर लकडाउन उल्लङ्घन गरेको जानकारी आफुँले पाएको बताउँदै उनले त्यसकै कारण शुरुमा केहि असमझदारी उत्पन्न भएको स्पष्ट पारे। अध्यक्ष आचार्यले पत्रकारहरुलाई बिनाकारण बाहिर ननिस्कन समेत आग्रह गरे।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाल भने सञ्चारकर्मीहरुलाई कुनै रोकावट नभएको बताउछन्। ‘‘लकडाउनलाई सफल बनाउन सञ्चारकर्मीहरुले पनि राम्रो भुमिका निर्वाह गरीरहनुभएको छ’’, उनले भने, ‘‘मैले प्रमुख जिल्ला अधिकारीज्यूसँगै मिडियाका साथीहरुलाई व्यवहारिक रुपमा पनि छाड्नुपर्छ भनेको छु।’’
नियमअनुसार सुचना विभागबाट जारी परिचयपत्रवाहक पत्रकार मात्र हिँडडुल गर्न पाउने भएपनि आफुँहरुले पत्रकारहरुको लागि लचकता अपनाएको एसएसपी ढकालको कथन छ। ‘‘कार्यालयको परिचय पत्र हेरेर छाड्ने गरिएको छ’’, उनले थपे, ‘‘हामीले सेटबाट नै पत्रकारहरुलाई रोकावट नगर्न आदेश दिएका छौँ।’’