स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको पछिल्लो निर्णयमा गलत नियत रहेको प्रष्ट भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले छानबिन गर्न माग गरेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विज्ञप्ती जारी गर्दै राजनीतिक नेतृत्वबाटै आपतकालीन अवस्थामा कमिसनखोरहरुसँग साँठगाँठ गरि भ्रष्टाचार गरिएको भन्दै छानबिन गरी दोषिउपर कारबाही गर्न माग गरेको हो।
निकै महंगोमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चर्को विरोध भएपछि सरकारले ओम्नी समूहसँग खरिद सम्झौता रद्द गरेको थियो। त्यसपछि मन्त्रिपरिषदमा छलफल नै नगरी जीटुजीमार्फत खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। उक्त निर्णय पनि विवादमा रहेको कारणले गर्दा छानविन हुनुपर्ने टीआईको माग छ।
टीआइका अध्यक्ष खेमराज रेग्मीले आज आइतबर विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद गर्दा सम्बन्धित कानूनबमोजिम स्वस्थ प्रतिस्पर्धाको आधारमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी तरिकाले गर्नुपर्नेमा कहिले नीतिगत निर्णयको नाममा त कहिले सरकार–सरकारबीचमा खरिद गर्ने नाममा सरकारले पटक–पटक विचौलिया एवं दलालसँगको मिलोमतोमा राज्यकोषको ठूलो रकम अपचलन गरिरहेको कुरा कसैबाट नलुकेकाे बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अतः प्रधानमन्त्रीज्यूकै भ्रष्टाचार विरोधी प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि यस राष्ट्रिय संकटको बेलामा रचिएको स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तहसमेतका सबै पदाधिकारीहरूमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही हुन सम्माननीय प्रधानमन्त्रीज्यू एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग टीआई नेपाल जोडदार माग गर्दछ ।’
