दाङ - कोरोना संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा प्रहरिले दुईजनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपाने र विरेन्द्रनगर नगरपालिका-८ कालिन्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्य रहेका छन्।
दिपकले फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै धर्मराजले पनि फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि खबर फैलाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीहरुलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।