एप्पलले लामो समयदेखि चर्चाको विषय बनेको आइफोन ९ बुधबार सार्वजनिक गरेको छ। कम्पनीले ल्याएकाे आइफोन ९ अहिले सम्मकै सस्तो मूल्यको आइफोन हुने बताइएसँगै यसकाे चर्चा पनि निकै बढेकाे छ।
एप्पलले याे आइफोन मार्च महिनाभित्र लन्च हुने कुरा गत फेब्रुवारीकाे पहिलाे हप्तामा नै तय गरेकाे थियाे। तर कोरोनाभाइरसका कारण यसमा ढिलाइ भएकाे हाे।
एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो। सोही अनुसार आइफोन ८ पछि आइफोन ९ को पालो थियो। तर एप्पलले आइफोन ८ पछि एकैचोटी आइफोन X र XI लञ्च गर्याे। तर अब भने एप्पलले आइफोन ९ बजारमा ल्याएकाे छ।
कम्पनीले आइफोन ९ लाई आईफोन एसई २०२० नाम दिएकाे छ। हेर्दा आइफोन ८ जस्तै देखिने यसको आन्तरिक डिजाइन भने आइफोन ११ सिरिजकाे आधारमा डेभलभ गरिएकाे कम्पनीले जनाएकाे छ। आइफोन ८ मा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको एलसिडी डिस्प्ले प्रयोग भएको छ। याे आइफोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको बताएको छ। फेस आईडी नभएकाे हुनाले कम्पनीले यसमा फिंगरप्रिन्ट सेन्सर समावेश गरेकाे छ र यसलाई पावर बटनभित्र इन्टिग्रेट गरेकाे छ।
यस नयाँ आइफोन एसई मा १२ मेगापिक्सेल मुख्य क्यामरा र ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ। यसमा एप्पलको ए १३ बायोनिक चीपसेट प्रयोग भएको छ। याे ६४, १२८ र २५६ जीबी गरि तीन भेरियन्टमा उपलब्ध छ। सेतो, कालो र रातो गरी तीन फरक कलरमा सार्वजनिक भएको याे आइफोन एल्युमिनियम र सिसाबाट बनेकाे छ। यसकाे साइज 138.4 x 67.3 x 7.3 mm र ताैल १४८ ग्राम रहेकाे छ।
एप्पलले यो स्मार्टफोन इमर्जिंग बजारहरुलाई केन्द्रित गरेर लन्च गरिएकाे बताएकाे छ। कम्पनीले यसको सुरुवाती मुल्य ३ सय ९९ अमेरिकी डलर ताेकेकाे छ । जसकाे नेपाली मूल्य करिब ४८ हजार ८ सय ७० रुपैयाँ पर्न आउँछ । अबकाे केहि महिनामा यो आइफोन नेपाली बजारमा पनि आउने अनुमान गरिएकाे छ। नेपाली बजारमा यसको मुल्य ५० हजार रुपैयाँकाे हारहारिमा उपलब्ध हुने अनुमान छ।