काठमाडाैं - नेपाली कांग्रेसले लकडाउनपछि पैदल यात्रामा नै गाउँ जान बाध्य भएका मजदुरहरूलाई सुरक्षित ढंगले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेको छ।
आज शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पैदल हिड्ने मजदुरहरूलाइ पर्याप्त राहत पुर्याउनुका साथसाथै अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका हुन्।
अहिले बसिरहेको ठाउँमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नभएकाले सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग चाहिने भन्दै कांग्रेसले पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ। तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार? आयोगलाई अरबौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न?’
त्यस्तै सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी पनि कांग्रेसले सरकारलाई दिएको छ।
