कठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मा पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४ सय ५४ नमूना परीक्षण गरिएसँगै हालसम्म देशभर २७ हजार बढीको कोभिड१९ परीक्षण भएको बताएका छन्।
मन्त्रालयले यसरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनेमध्येका २ सय ५४ जनालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चारहजार ५ सय ३६ व्यक्ति छन् भने आइसोलेसनमा १ सय १७ जना छन्। त्यस्तै मोबाइल एप्लिकेसन र वेबसाइटमा गरेर हालसम्म २० हजार १ सय ३० जनाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी लिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर आरडीटी परीक्षणमा पोजिटिभ नतिजा आएका नमूनाको पीसीआर परीक्षण भइरहेको जनाएको छ। मन्त्रालयले आरडीटी वा पीसीआर परीक्षणमा पोजिटिभ देखिएका कोभिड(१९ का संक्रमितहरूको नामसहितको विस्तृत विवरण सार्वजनिक नगरिदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ।