नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ। सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि चीनबाट स्वास्थ्य सामग्री र औषधि काठमाडौं आइपुग्न भने अझै दुई साता लाग्ने भएको छ।
मन्त्रिपरिषद् बैठकले चैत १६ मा सेनालाई सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधि खरिद गरेर ल्याउन जिम्मा दिने निर्णय गरेको थियो। सोहीअनुसार सेनाले करिब तीन साता लगाएर खरिदको सम्पूर्ण आन्तरिक काम पूरा गरिसकेको छ। ‘आर्थिक नियममा रहेर खरिद प्रक्रियालाई पूरा गरेका छौं,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने।
सेनाले औषधि खरिदका लागि विदेशी कम्पनीहरूसँग ती मुलुकमा रहेका नेपालका सैनिक सहचारीमार्फत हस्ताक्षर गरिसकेको छ। सेनालाई सरकारबाट आइतबारै औषधि तथा स्वास्थ्य सामग्रीका लागि आवश्यक रकम पनि प्राप्त भइसकेको छ। सेनाले स्वास्थ्य सामग्री र औषधि गरेर पहिलो चरणमा १ सय २० थरी सामग्री ल्याउन लागेको हो। भारतबाट ५३ थरी औषधि, चीनबाट स्वास्थ्य सामग्री र औषधि गरी ६७ थरी ल्याउन लागिएको हो।
भारतमा ल्याउन लागिएको औषधि एक साताभित्र नेपाल आइपुग्नेछ। भारतले दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्नेछ र त्यहाँबाट नेपालले हवाई जहाज वा गाडीमा ल्याउनेछ। केमा ढुवानी गर्ने भन्ने सम्बन्धमा निर्णय भइसकेको छैन।
अर्कोतर्फ चीनबाट सामग्री केमा ल्याउने भन्ने टुंगो लागिसकेको छैन। सोमबारको सात दिनभित्रमा चीनको गोन्जाउमा सम्पूर्ण सामग्री जम्मा गरिसक्ने सम्बन्धित कम्पनीहरूले सेनालाई वाचा गरेका छन्। चिनियाँ कम्पनीहरुले अन्य मुलुकलाई पनि सामग्री दिनुपर्ने कारणले गर्दा केही समय लाग्ने भएको हो।
चीनबाट ल्याउने सामग्रीको तौल ३ सय ४० टनभन्दा बढी हुनेछ । हवाई जहाजमा पनि सामग्री ल्याउन धेरैपटक ओहोरदोहोर गर्नुपर्ने हुन्छ। नेपालमा उपलब्ध जहाजले एकपटकमा १५ देखि २० टन सामग्री ल्याउन सक्छन् ।
त्यहीअनुसार हुने हो भने दुई दर्जनभन्दा बढीपटक जहाज गएर सामग्री ल्याउनुपर्ने हुन्। हवाई जहाजबाट सामग्री ल्याउन नमिले वा उपयुक्त नदेखिए सेनाले स्वास्थ्य सामग्री र औषधि गोन्जाउबाट सडकको बाटो हुँदै तातोपानी नाकाबाट ल्याउने योजना बनाएको छ। गोन्जाउबाट गाडीमा तातोपानी नाकासम्म सामग्री ल्याउन सात दिन लाग्छ। र, तातोपानी नाकामा आएपछि भन्सारको काम पूरा गर्न थप दुई दिन लाग्ने सेनाले जनाएको छ।
‘विभिन्न मुलुकमा चीनबाट गएका सामग्रीहरुबाट प्रश्न उठ्न थालेपछि केन्द्रीय सरकारले आफ्नो मुलुकबाट जाने सम्पूर्ण सामग्रीलाई भन्सारमा विस्तृत रूपमा परीक्षण गर्नेछ, त्यसैले दुई दिन लाग्छ,’ सैनिक स्रोतले भन्यो। यसरी हेर्दा पनि सेनाले काठमाडौंमा सामग्री ल्याउन कम्तीमा अझै दुई साता लाग्ने देखिन्छ।
कोरोना भाइरसलाई मध्यनजर राखेर स्थापना गरिएको कोभिड–१९ विपत् व्यवस्थापन केन्द्रले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि ३ सय ९६ स्वास्थ्य सामग्री र औषधि आवश्यक परेको औंल्याएको थियो। त्यसमध्ये सेनाले पहिलो चरणमा १ सय २० स्वास्थ्य सामग्री र औषधि ल्याउन लागेको हो। यो समाचार आजको कान्तीपुर दैनीकमा लेखीएको हो।