बाजुरा– जिल्ला सदरमुकाम मार्तडी बजारमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकले बल्ल राहत पाएका छन्। मार्तडी बजार क्षेत्रमा दैनिक सामान ओसारपसार गरेर तथा अरुकै कामको भरमा परिवारको गुजारा गर्दै आएका मजदुरले लकडाउनपछि काम नपाउँदा गुजारा टार्न समस्या पर्दै आएको थियो।
बडिमालिका नगरकार्यपालिकाले उनीहरुको पहिचान गरी २६ जना मजदुरलाई राहत सहयोग गरेको नगर प्रमुख पदम बडुवालले बताएका छन्। पालिकाले बजार व्यवस्थापन समितिसँग समन्वय गरी राहत सहयोग गरेको हो। नगरपालिकाले प्रति व्यक्ति १५ केजी चामल, १ केजी दाल र १ पोका तेल राहत सहयोग गरेको हो। सहयोगले आफूहरुलाई राहत पुग्ने एक मजदुर मनबहादुर कडाराले बताएका छन्।
हिमाली र गौमुलमा पनि राहत
हिमाली गाउँपालिका–७ बाँधुका अति विपन्न ३४ परिवारलाई प्रतिघर ३० केजी चामल, २ केजी नुन वितरण गरिएको छ। सो पालिकाका रोजगार संयोजक बिर्खेराज पाण्डेका अनुसार स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा राहत वितरण गरिएको हो।
गौमुल गाउँपालिका–२ वडा कार्यालयले पनि गरिब तथा विपन्नलाई राहत वितरण गरेको छ। प्रति परिवारलाई ३० केजीका दरले ७५ परिवारलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष चक्र बोहराले बताएका छन्। रासस