कोरोना रोकथामका लागि बन्दाबन्दीको अवधि लम्बिएपछि बल्ल यहाँका स्थानीय तहले ज्यालादारी र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गर्न थालेका छन्। हप्ता, महिना र तीन महिनासम्म खाना नपुग्ने घरपरिवारको पहिचान गरेर राहत वितरण गर्न थालिएको हो। यसअघि जिल्लामा राहत वितरण गरिएको थिएन।
यहाँका आठ स्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका छन्। चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका ३७० जनाले राहत पाएका छन्। उद्योग वाणिज्य सङ्घ जुम्लाबाट १०, आर्ट अफ द नेपाल लिमिटेडबाट २० र चन्दननाथ नगरपालिकाले ३४० जनालाई राहत उपलब्ध गराएको हो। ती सामग्री नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपाने–महत बाट हस्तान्तरण गरिएको थियो।
अतिविपन्न, अपाङ्गता, असहाय, वृद्ध, बेरोजगार व्यक्तिलाई छनोट गरेर राहत वितरण गरिएको उनले बताएका छन्। यसैबीच गुठिचौर गाउँपालिका–४ का ६१२ घरधुरीलाई मास्क, साबुन, चामल र नुन वितरण गरिएको छ। प्रत्येक नागरिकको घरदैलोमा पुगेर राहत वितरण गरिएको वडाध्यक्ष जगप्रसाद जैशीले जानकारी दिएका छन्। रासस