बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरसँग लडीरहेका उनको बिहीबार बिहान मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा निधन भएको हो।
उनको स्वास्थ्यमा समस्या आएका कारण बुधबार अस्पताल भर्ना गरिएको थियो। उनका दाजु एवं अभिनेता रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो।
उनलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनी उपचारका लागि अमेरिकाको न्यूयोर्क पुगेका थिए। पत्नी नीतूसँगै ११ महिना अमेरिकामा उपचार गराएर गत सेप्टेम्बरमा मात्र उनी भारत फर्किएका थिए।
फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो।
सन् १९५२ सेप्टेम्बर ४ मा जन्मेका ऋषि कपुर अभिनेता राज कपुरका छोरा हुन्। परिवारमा उनकी पत्नी नितु सिङ, उनका छोरा रणवीर कपुर र र छोरी रिदिमा कपुर छन्।
उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए। त्यसपछि उनले ९२ वटा फिल्ममा मुख्य भुमिकाको रुपमा काम गरेका छन्। ऋषि कपुर अभिनेता मात्र नभई निर्देशक र फिल्म निमार्ता पनि हुन्।
उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए। उनी सर्वश्रेष्ठ बाल कलाकारको लागि राष्ट्रिय फिल्म पुरस्कारबाट पनि सम्मानित भएका थिए। उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए।
प्रायः सामाजिक सन्जालमा सक्रिय रहने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए।