मुस्ताङ - मुस्ताङको थासाङ गाउँपालिकाको वडा नं २ मा पर्छन् सौरु र सिरकुङ गाउँ। कालीगण्डकीले मध्यभागबाट चिरेको मुस्ताङमा यी गाउँहरु दक्षिणतर्फ पर्छन्। मध्यभागबाट बगेको कालीगण्डकीका कारण थासाङको सौरु र सिरकुङलगायत वडा नं ४ र ५ का धेरै गाउँले बर्से्नि क्षति व्यहोर्ने गरेका छन्। गर्मी मौसममा हिउँ पग्लिएर उर्लिन्छ कालीगण्डकी। अक्सर मुस्ताङमा पानी कम पर्छ। जिल्लाको मध्यभाग भएर बग्ने कालीगण्डकीले मुस्ताङलाई दुई भागमा विभाजन गरेको छ। हिउँदमा एक गाउँबाट अर्को गाउँ जान मुस्ताङीलाई समस्या छैन किनकि उनीहरु कालीमा हेलिएर वारपार गर्छन्।
हिउँ पग्लिएर धमिलो बनेको कालीले वर्षात्मा भने धेरैलाई झुक्याउने गर्छ। विगतका वर्षहरुमा नदी तर्दै गरेका कयौँको ज्यान लिएका घटना मुस्ताङीको मनसपटलमा ताजै छन्। त्यसैले त अहिले वर्षाको समयमा काली हेलिएर वारपार गर्न मुस्ताङी डराउँछन्। कालीगण्डकीले दुई भाग लगाएको मुस्ताङमा उत्तरतर्फबाट जिल्लाभरि नै सडक सञ्जाल फैलाइएको छ। दक्षिणमा पनि सडक त पुगेको छ तर निकै घुमाउरो, समय प्रशस्तै लिन्छ। कालीगण्डकी करिडोर पनि उत्तरमा पर्छ। उत्तरतर्फकै भूभागमा धेरै गाउँ छन्। सदरमुकाम जोमसोम बजार दुवै भागमा फैलिएको छ। तर त्यहाँ समस्या छैन।
चर्चामै रहेको लेतेगाउँबाट उत्तरतर्फ लागेपछि टुकुचे आउँछ। त्यहाँबाट केही माथि पुगेपछि जोमसोम नपुग्दै केही गाउँ छन्। उत्तरतर्फका गाउँ त सडकसँग जोडिएकाले कुनै समस्या छैन तर दक्षिणका गाउँ भने हरेक वर्ष उर्लँदो कालीसँग पौँठेजोरी नखेली सुखै छैन। सौरु र सिरकुङ गाउँका विद्यार्थीले दैनिक छ घण्टाको बाटो हिँडेर विद्यालय आउजाउ गर्छन्। उनीहरुले वर्षायाममा पनि यस्तै नियति भोग्नुपर्छ। “छ घण्टा त बाटोमै बिताएर यहाँका बालबालिका कोबाङमा रहेको विद्यालय पुग्ने गर्छन्”, स्थानीयवासी सोजन हिराचनले भने। दुई गाउँबाट कोबाङ पढ्न जाने १३ विद्यार्थी छन्।
वर्षामा उर्लेको कालीले वारपार गर्न नसक्दा यहाँका किसानले फलाएको स्याउ बोटमै कुहिएर झर्ने गरेको वडाध्यक्ष नरप्रसाद हिराचन बताउँछन्। हिउँद लाग्ने बेलासम्म बचेको स्याउमात्रै बजार पठाएर यहाँका सिकानको गुजारा चलेको छ। हिराचन भन्छन्, दुवै गाउँ स्याउका भण्डार नै हुन्। थासाङ गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने धम्पु, टिटी, ताउलुङ, देउराली, चिमाङ, चोखोपानी गाउँको पनि समस्या उस्तै छ।
मुस्ताङका दक्षिण भागमा पर्ने सबै गाउँको समस्या उस्तै हो तर थासाङ गाउँपालिकाका गाउँहरुको भने उर्लेको कालीका कारण किसानदेखि विद्यार्थीसम्मका सपना सधैँ धरापमा पर्ने गरेका छन्। कालीगण्डकीमा जोखिमको यात्रा गरिरहेका यी गाउँका सर्वसाधारणले लामो समयदेखि कल्पना गरेको कालिगण्डकीमाथि पुल बनाउने सपना पूरा हुने चरणमा प्रवेश गरेको छ। समयमा निर्माणको काम सकिए अबको दुई वर्षमा यहाँका सर्वसाधारण निर्धक्क भएर काली वारपार गर्न पाउनेछन्।
मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनको निरन्तरको प्रयासपछि कोबाङ–खन्ती–लार्जुङ जोड्ने गरी कालीगण्डकीमाथि झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरु भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनले पुल निर्माणको प्रक्रिया अघि बढाएका हुन्। विस्तृत परियोजना प्रतिवेदन तयार गरेर यहाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरु भएको डिभिजन इञ्जीनियर प्रवेश रेग्मीले जानकारी दिए।
आज आइतवार खुल्ने गरी भएको बोलपत्र आह्वान लकडाउनका कारण पर सेरेको भए पनि केही दिनमा पुल बनाउने कम्पनीको टुङ्गो लाग्ने छ। मल्टिस्पान प्रविधिमा यहाँ ५७० मिटर लामो झोलुङ्गे पुल बनाउन लागिएको हो। विभागले नौ करोड रुपैयाँ खर्चेर पुल बनाउने तयारी थालेको रेग्मी बताउँछन्। तीन पिलरसहित पाँचदेखि छ मिटर उचाइको पुल यहाँ बन्ने छ।
“निकै सङ्घर्ष गरेर पुल बन्ने भयो, अब हाम्रा गाउँहरुको मुहार नै फेरिन्छ”, प्रतिनिधिसभा सदस्य तुलाचनले भने, “विद्यार्थीलाई विद्यालय जान र किसानको स्याउको बजारीकरण गर्न पुल निकै महत्वपूर्ण हुनेछ।” पुल बनेपछि कालीगण्डकी वारिपारि रहेका सबै गाउँका एक हजारभन्दा धेरै सर्वसाधारण लाभान्वित हुने उनले बताए।
कालिगण्डकीमा बन्न लागेको यो पुलका कारण हरेक वर्ष हुने मानवीय क्षति कम हुने र आर्थिक क्रियाकलापमा समेत राम्रो प्रभाव पर्ने वडाध्यक्ष हिराचन बताउँछन्। हिउँदको समयमा बेँसी झर्ने मुस्ताङका गाउँका सर्वसाधारण वर्षाको समयमा गाउँ फर्किन्छन्। खेतीपाती गरेर गाउँ बस्ने समयमै उर्लिने कालीगण्डकीमा पुल नभएका कारण सर्वसाधारण मर्कामा थिए। रासस