काठमाडाैं - संसद सचिवालयले बजेट अधिवेशनमा चस्मा, कलम, डायरी र औषधिसमेत लैजान निषेध गरेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चस्मा अनिवार्य लगाउनुपर्ने बताएका थिए। तर शुक्रबार बेलुका अपराह्र ४ बजेदेखिको संसद अधिवेशनमा चश्मा लगाउन नपाइने भनिएको छ।
विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घाका लागि छुट्टाछुट्टै प्रवेशद्वार छन्। त्यहाँ निषेधित वस्तुहरुको सूची टाँस गरिएको छ।
सूचीमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, इयरफोन, पेनड्राइभ, व्रिफकेस, लठ्ठी, सुर्तीजन्य पदार्थ, चक्लेट, चुइगम र पानीको बोतल र औषधीसमेत साथमा राख्न नपाइने उल्लेख छ।
त्यस्तै संसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन्।
सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो। यदि रिपोर्टमा कोरोना संक्रण देखिएको पाइएमा बैठकमा सहभागी हुन पाउने छैनन्।