स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी फेरि अनसन बस्ने भएका छन्। उनले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्।
दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गर्दै दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्।
डा. केसीले काठमाडौंमा धमाधम नाफामूलक निजी मेडिकल कलेज खोलेर करोडौं खर्च गर्ने डाक्टर उत्पादन गर्नुभन्दा डडेल्धुरा, धनगढी, दाङ, जुम्ला, उदयपुर, इलाम, बर्दिबास जस्ता ठाउँमा सरकारी मेडिकल कलेज खोलेर त्यस वरपरको ठूलो जनसंख्यालाई विशेषज्ञ तहको सेवा दिन सकिने विषय पुन: स्मरण गराएका छन् ।
‘तबसम्म हामीसित हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गर्दर्छौं,’ विज्ञप्तिमा भनिएकाे छ ।
‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडक लगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ डाक्टर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सा शिक्षा सुधारलगायत विभिन्न विषयमा केसी पटकपटक अनशन बस्दै आएका छन् ।