प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइन बनाइने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपलब्ध संरचनाहरुलाई प्रयाेग गर्दै क्वारेन्टिनकाे संख्या विस्तार गरिने बताए ।
प्रधानमन्त्री ओलीले लकडाउनका कारण प्रभावित भएकाे अर्थतन्त्रलाई बचाउन लकडाउन खुकुलाे बनाउने संकेत गर्दै याेजना बनाएर अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले स्थानिय तहलाई काेराेनासँग लड्न सक्ने गरी सक्षम बनाइने उल्लेख गर्दै स्वास्थ्य सेवा र राहत वितरणमा पनि स्थानीय तहलाई सबल बनाइने बताए।
प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिने बताए। एउटा प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २७ भन्दा बढी प्रयोगशाला स्थापना गरि बिस्तार भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपाल अभियान थाल्ने समेत जानकारी दिए।
प्रधानमन्त्री ओलीले विदेशमा रहेका नागरिकप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै धेरै नेपाली रहेको राष्ट्रका प्रमुखहरुसँग कुरा गरेको पनि जानकारी दिए। उनले स्वदेश फर्कन चाहने नेपालीलाई तत्काल नेपाल ल्याउन आवश्यक आदेश जारी गर्ने सम्बन्धमा पनि सरकार लागि परेकाे बताए ।
छिमेकी राष्ट्र भारतबाट बीना परिक्षण नेपाल भित्रिनेहरुका कारण पनि कोरोना माहामारी तीब्र गतिमा बढेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले ठूलो दुख कष्ट खेपेर नेपाल आएकाहरुलाई परीक्षण गराउन र नियम पालाना गर्न आग्रह गरेका छन्। उनले एसईई परिक्षा तत्काल संचालन गर्न नमिलेको तर आवश्यक व्यवस्था मिलाएर छिटै गरिने भन्दै अन्य कक्षा पनि भच्र्युल माध्यमबाट गरिने बताए।